मलंगवा, पुस— ४ । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नेतृ डा. डिला संग्रौला सर्लाही आएकी छन् । उनको प्रमुख आतिथ्यतामा जिल्लाका शुक्रवार सदमुकाम मलंगवामा अग्रज नेताहरूको उपस्थितिमा भेटघाट कार्यक्रम सम्पन्न भएको उक्त पार्टीले जनाएको छ । नेपाली कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारका अनुसार पार्टीका नेताकार्यकर्ताले नेतृ संग्रौलालाई सर्लाहीमा स्वागत गरेका थिए ।


भेटघाट कार्यक्रममा नेपाली कांग्रेस सर्लाहीका निवर्तमान सभापति सुरेन्द्र प्रसाद सिंह, कार्यवाहक सभापति डा. सरोज कुमार, मधेश प्रदेश कार्यसमिति सदस्य सोनी कुमारी बम्जन, महासमिति सदस्य शेख सहदुल्ला, सचिव निरज कार्की लगायत अन्य नेताकार्यकर्ताहरूको उपस्थिति रहेको कांग्रेस सर्लाहीले जनाएको छ।


पार्टीले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेसँगै नेपाली कांग्रेसका नेताहरू देशव्यापी दौडाहामा निस्किएका छन्। कांग्रेसले यही पुस २६, २७ र २८ गते काठमाडौंमा हुने १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ । शुक्रवार मलंगवामा सम्पन्न भेटघाट कार्यक्रममा नेतृ संग्रौलाले पार्टीको समसामयिक राजनीति र आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलगायतका विषयमा आफ्ना धारणा राखेकी थिइन्।


यसैबीच, नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिको बैठक शुक्रबार सदरमुकाम मलंगवामा सम्पन्न भएको छ। कांग्रेस सर्लाहीका कार्यवाहक सभापति डा. सरोज कुमारका अनुसार बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि क्षेत्रहरूबाट सिफारिस भएर आएका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवार आकांक्षीहरूको नामावली यथावत् निर्णय गरी प्रदेश कार्यसमितिमा पठाउने निर्णय गरेको छ।


“मेरो सभापतित्वमा बैठक बसेको हो,‘जिल्ला कार्यसमिति बैठकले क्षेत्रबाट सिफारिस भएर आएका प्रत्यक्ष निर्वाचन लड्न चाहने नेताहरू तथा समानुपातिकमा बस्न इच्छा व्यक्त गरेका सबैको नाम समेटेर पठाइएको छ,” डा. कुमारले भने ।
कांग्रेसलाई अब महाधिवेशनका लागि क्रियाशील सदस्यता टुंग्याउने चटारो पनि बढेको छ। क्रियाशील सदस्यतासम्बन्धी निर्णय गर्न भोलि मध्यान्ह बयलवासमा क्षेत्र नम्बर १ को बैठक राखिएको सर्लाही क्षेत्र नम्बर १ (ख) का सभापति सीताराम दाहालले जानकारी दिए।