काठमाडौँ, चैत-७  । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा नागरिक स्वतन्त्रताका लागि भएका संघर्ष र बलिदानीपूर्ण आन्दोलनहरूमा मधेसी समुदायको भूमिका ऐतिहासिक र महत्वपूर्ण रहेको बताएका छन् ।

मधेसी आयोगको सातौं वार्षिक उत्सव तथा स्थापना दिवसको अवसरमा शनिबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले ती आन्दोलनहरूमा अभिव्यक्त स्वतन्त्रता, समभाव, सामाजिक न्याय, सुशासन, विकास र समृद्धिसहितको राष्ट्रिय एकताको भावना सबै नेपालीको चाहना भएको बताए ।

“यो चाहनालाई आत्मसात गरेर अघि बढ्नु आजको मुख्य आवश्यकता हो । हालै सम्पन्न निर्वाचनमार्फत नेपाली जनताले अभिव्यक्त गरेको राष्ट्र निर्माणको दायित्व पूरा गर्न म यस अवसरमा सबै पक्षलाई आह्वान गर्दछु,” उनले भने ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधताले सम्पन्न राष्ट्र भएको उल्लेख गर्दै यस विविधताभित्र मधेसी समुदायले राष्ट्र निर्माणमा पुर्‍याएको योगदान महत्वपूर्ण रहेको बताए । “आयोगले विगत सात वर्षमा मधेसी समुदायको पहिचान र अधिकारका लागि जुन जग बसालेको छ, आगामी दिनमा यसलाई अझ उचाइमा पुर्‍याउनेछ भन्ने विश्वास छ,” उनले भने ।

ऐतिहासिक रूपमा केही समुदाय—विशेषतः मधेसी समुदाय—राजनीतिक, सामाजिक र आर्थिक अवसरबाट वञ्चित रहँदै आएको यथार्थलाई स्वीकार गर्दै ती असमानताको अन्त्य गर्ने उद्देश्यले मधेसी आयोग स्थापना गरिएको उनले बताए ।“संविधानले आयोगलाई स्वतन्त्र र निष्पक्ष रूपमा कार्यसम्पादन गर्न अधिकार दिएको छ । आयोगले अध्ययन अनुसन्धान गरी हालै सार्वजनिक गरेको प्रतिवेदनमा मधेसी समुदायको हकहित संरक्षण, सम्बर्द्धन र सशक्तीकरणका लागि विभिन्न सिफारिस समावेश छन् । ती सिफारिसले मधेसी समुदायका समस्याको पहिचान गरी समाधानका लागि ठोस मार्गनिर्देशन प्रदान गरेको छ,” उनले भने ।