मनोज यादव/सर्लाही
पुस ४। सर्लाही सदरमुकाम मलंगवामा किशोर किशोरीमैत्री सूचना केन्द्र सञ्चालन तथा अपांगमैत्री यौन तथा प्रजनन स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न प्रादेशिक अस्पतालसहित दुई सामुदायिक विद्यालयलाई आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (UNFPA)अन्तर्गत नर्वे सरकारको सहयोग तथा नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा उक्त सामाग्री हस्तान्तरण गरिएको हो।


नेपाल परिवार नियोजन संघ सर्लाही शाखाको आयोजनामा शुक्रवार मलंगवा प्रादेशिक अस्पताल, मलंगवा नगरपालिका वडा नं.–२ स्थित पब्लिक माध्यमिक विद्यालय र वडा नं.–६ खुटौना स्थित श्री जनता माध्यमिक विद्यालयमा छुट्टाछुट्टै कार्यक्रम गरी सामाग्री हस्तान्तरण गरिएको हो।
नेपाल परिवार नियोजन संघ सर्लाही शाखा कार्यसमिति सदस्य मुकेश जयसवालको अध्यक्षतामा आयोजित कार्यक्रममा अपांगता भएका व्यक्ति तथा किशोर किशोरीको स्वास्थ्य अधिकारलाई केन्द्रमा राख्दै आवश्यक पूर्वाधार र उपकरणहरू प्रदान गरिएको संघले जनाएको छ ।


यौन तथा प्रजनन स्वास्थ्य सेवामा अपांगता भएका व्यक्तिहरूको सहज पहुँच सुनिश्चित गर्ने उद्देश्यले संघको धनुषा शाखाबाट प्राप्त विभिन्न सामग्रीहरू मलंगवा प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको धनुषा शाखाका शाखा प्रबन्धक रुपक गिरीले जानकारी दिए।
अस्पताललाई हस्तान्तरण गरिएका सामग्रीमा ३५ किलो सिमेन्ट, २ किलो ह्वाइट सिमेन्ट, ५ थान PVC , ३/४ इन्च CPV पाइप ३९ मिटर, २ थान फोल्डिङ स्ट्रेचर, २ थान ह्वीलचेयर, ३ थान स्टिक, ३ थान बैसाखी, २ थान वाकर तथा २ थान कमोड चेयर रहेका छन्।


यी सामग्रीबाट अस्पतालको अपांगमैत्री सेवा प्रवाहमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
किशोरकिशोरीमैत्री सूचना केन्द्र सञ्चालनलाई प्रभावकारी बनाउन मलंगवा–२ स्थित पब्लिक माध्यमिक विद्यालयलाई पनि आवश्यक सामग्री प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक सुभाष कुमार यादवमार्फत १९.३८ मिटर कार्पेट, ३२ इन्चको टिभी १ सेट, डेनट्राइड १ लिटर, डोर म्याट १ सेट, अफिस टेबल १ थान तथा प्लास्टिकका कुर्सी १० थान हस्तान्तरण गरिएको हो।


त्यस्तै, मलंगवा–६ खुटौना स्थित श्री जनता माध्यमिक विद्यालयलाई प्रधानाध्यापक नितेश कुमार झामार्फत प्रोजेक्टर १ थान, अफिस टेबल १ थान, प्लास्टिक टेबल १ थान, डोर म्याट १ थान तथा मुभिङ चेयर १ थान प्रदान गरिएको नेपाल परिवार नियोजन संघ सर्लाही शाखाका प्रमुख सुनित कुमार मुन्नाले बताए ।
प्रादेशिक अस्पतालमा आयोजित हस्तान्तरण कार्यक्रममा डा. राम प्रकाश साह, ग्ल्ँएब् का प्रोजेक्ट कोअर्डिनेटर बच्चालाल महतो र सम्झना साह, डा. सचिन यादव, डा. अविनाश कुमार सिंहलगायत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो भने विद्यालयस्तरीय कार्यक्रममा प्रधानाध्यापक, शिक्षकशिक्षिका, संघका प्रतिनिधि तथा पत्रकारहरूको सहभागिता रहेको थियो।
कार्यक्रममार्फत किशोरकिशोरीको सूचना र परामर्श पहुँच अभिवृद्धि हुनुका साथै अपांगमैत्री स्वास्थ्य सेवा सुदृढ भई समावेशी स्वास्थ्य प्रणालीतर्फ महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।