लालबन्दी, माघ-७ गते । मधेश प्रदेशको मध्य भाग लालबन्दीमा अब अत्याधुनिक आँखाको उपचार र शल्यक्रिया सेवा विस्तार हुने भएको छ।

सामुदायिक परोपकार आँखा उपचार केन्द्र, लालबन्दीलाई लायन्स क्लब इन्टरनेशनलले २ करोड २० लाख २१ हजार ८६० रुपैयाँ बराबरका आधुनिक उपकरण हस्तान्तरण गरेसँगै स्थानीयस्तरमै गुणस्तरीय आँखाको उपचार सेवा प्राप्त हुने भएको हो।


लालबन्दी नगरपालिका–५ जरुवापानीमा रहेको आँखा उपचार केन्द्रमा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको प्रमुख आतिथ्य तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायको विशिष्ट आतिथ्यतामा औपचारिक रूपमा उपकरणहरू हस्तान्तरण गरिएको हो।

हस्तान्तरण गरिएका उपकरणमा फेको सर्जरी मेसिन, माइक्रोस्कोप, स्लिट ल्याम्पलगायत आँखाको शल्यक्रिया र परीक्षणका लागि आवश्यक अत्याधुनिक प्रविधि रहेका छन्।
कार्यक्रममा मुख्यमन्त्री यादवले प्राप्त उपकरणले लालबन्दी मात्र नभई सिंगो मधेश प्रदेशका आँखाका बिरामीलाई लाभ पुग्ने विश्वास व्यक्त गरे। उनले प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार आवश्यक रहेको उल्लेख गर्दै सेवा विस्तार र व्यवस्थापनमा प्रदेश सरकार गम्भीर रहेको बताए। साथै उनले आवश्यक परे थप सहयोगका लागि प्रदेश सरकार तयार रहेको संकेत पनि दिए।


स्वास्थ्य तथा जनसंख्या मन्त्री रायले लायन्स क्लबले उपलब्ध गराएको उपकरण सञ्चालनका लागि दक्ष चिकित्सक र प्राविधिक प्रदेश सरकारको तर्फबाट व्यवस्थापन गर्ने प्रतिबद्धता जनाए। उनले लालबन्दीमा ट्रमा सेन्टर स्थापना गर्ने योजना रहेको जानकारी दिँदै त्यसका लागि बजेट विनियोजन गरिने बताए।
प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री बेची लुंगेलीले उपकरणको दिगो र प्रभावकारी प्रयोगमार्फत यस क्षेत्रका नागरिकले नियमित रूपमा आँखा उपचार सेवा पाउने वातावरण बनाउन आग्रह गरिन्।


लायन्स क्लब इन्टरनेशनलका पूर्व काउन्सिल चेयरपर्सन भरतप्रसाद ढुंगेलले काठमाडौंको तिलगङ्गा आँखा अस्पतालको मोडेलमा लालबन्दीमै उपचार र शल्यक्रिया सेवा सञ्चालन गर्ने लक्ष्यसहित काम अघि बढिरहेको जानकारी दिए। उनका अनुसार आवश्यक जनशक्तिको व्यवस्थापनका लागि प्रदेश सरकारसँग समन्वय भइरहेको छ।
लायन्स क्लब इन्टरनेशनल ३२५एच डिष्ट्रिक्टका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेले नयाँ उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनपछि सर्लाही, महोत्तरी, रौतहट, सिन्धुली र भारतको बिहार क्षेत्रका लाखौं नागरिकलाई समेत आँखा उपचार सेवा प्रदान गर्ने लक्ष्य रहेको बताए।
नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले निर्माण गरेको सुविधासम्पन्न तीनतले भवनको दोस्रो तलामा उपकरण जडान गरिएको छ। रेडक्रस उपशाखा लालबन्दीका सभापति ध्रुवप्रसाद घिमिरेका अनुसार आवश्यक चिकित्सक र प्राविधिकको व्यवस्था भएपछि छिट्टै फेको मेसिनबाट आँखाको शल्यक्रियासहितको उपचार सुरु गरिनेछ।
कार्यक्रममा लायन्स क्लब इन्टरनेशनलका डाइरेक्टर बालकृष्ण बुर्लाकोटी, लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, हरिपुर नगरपालिकाका प्रमुख गोपाल पजियार, पूर्व स्वास्थ्य राज्यमन्त्री राम सिंहलगायतले मन्तव्य राख्दै स्थानीयस्तरमै सुविधायुक्त आँखा अस्पताल सञ्चालनको तयारी भइरहेकोमा खुसी व्यक्त गरे।
लालबन्दीस्थित सामुदायिक आँखा उपचार सेवा केन्द्रले २०६५ साल कात्तिक २५ गतेदेखि नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले जानकी आँखा अस्पताल जनकपुरको सहकार्यमा नियमित आँखा उपचार सेवा दिँदै आएको छ। रेडक्रस लालबन्दी लायन्स क्लबसहित विभिन्न संघसंस्थासँगको सहकार्यमा आँखा स्वास्थ्य सेवामा नयाँ आयाम थप्न प्रयत्नशील रहेको उपशाखा सचिव भरतप्रसाद गाैतमले बताए ।