
काठमाडौं, कात्तिक—३ गते । नेपाली गजल साहित्यका सशक्त सर्जक विवश पौडेल यस वर्षको ‘छायादेवी चेतनाथ गजल पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् ।
पौडेलले आफ्नो गजलसंग्रह ‘धर्तीको जून’ मार्फत यो पुरस्कार प्राप्त गरेका हुन्। नेपाली गजलको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने साधकलाई हरेक वर्ष प्रदान गरिँदै आएको यो पुरस्कार जे. सागरको संरक्षणमा बुलबुल कम्युनिकेसनको संयोजनमा स्थापना गरिएको हो। पौडेलले नगल पुरस्कार. १० हजारसहित सम्मान–पत्र प्राप्त गरेका छन् ।

काठमाडौँमाको गरिमामय समारोहमा पोडेललाई पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा गजल वाचनका ‘भीष्म पितामह’ अच्युत घिमिरे ‘बुलबुल’, गजल सारथी घनेन्द्र ओझा, विश्व कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठ, युवा गजलकार बाबु त्रिपाठी, कवि तथा गजलकार कल्पना काफ्लेलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

गजलकार पौडेललाई उक्त पुरस्कार छायादेवी पराजुली र चेतनाथ पराजुलीको हातबाट प्रदान गरिएको थियो। सम्मानित भएपछि प्रतिक्रिया दिँदै विवश पौडेलले सम्मानले आफूलाई थप सिर्जनात्मक लेखनमा प्रेरित गरेको बताए। कार्यक्रमका संयोजनकर्ता अच्युत घिमिरे र संरक्षक जे. सागरले भविष्यमा पनि गजल विधामा विवश पौडेलको योगदान अझ सशक्त बन्ने विश्वास व्यक्त गरे ।










