सर्लाही, फागुन- ४ । भौतिक पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सबइन्जिनियर प्रमोद कुमार यादवको हत्या घटनाको घोर भर्त्सना गर्दै सर्लाही जिल्ला अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीहरूले साेमवारआज एकदिन सम्पूर्ण सेवा प्रवाह बन्द गरेका छन्।

मलंगवा नगरपालिका–१० स्थित डेरामा बस्दै आएका भौतिक पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत सबइन्जिनियर प्रमोद कुमार यादवलाई आइतवार बेलुका करिब ७:५० बजे अज्ञात आपराधिक समूहले बाहिर बोलाएर गोली प्रहार गरी हत्या गरेको विरोधमा कर्मचारीले सेवा प्रवाहित बन्द गरेका हुन ।

घटनाको विरोधमा अदालत कर्मचारीहरूले प्लेकार्डसहित प्रदर्शन गर्दै “कर्मचारीको सुरक्षाको व्यवस्था गर”, “हत्या हिंसा बन्द गर”, “कर्मचारी हत्या गर्न पाइँदैन”, “शान्ति सुरक्षा कायम गर” जस्ता नाराहरू लगाएका थिए।
कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा घटनाको तत्काल निष्पक्ष अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग गरिएको छ। साथै मृतक सब–इन्जिनियर प्रमोद कुमार यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरिएको छ।
![]()
विज्ञप्तिमा मृतक परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ भने कर्मचारी तथा कार्यस्थलको सुरक्षाको प्रत्याभूति गर्न सरकारसँग जोडदार माग गरिएको छ।
घटनाको विरोधस्वरूप फागुन ४ गते एक दिनका लागि अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द गरिएको जनाउँदै सेवाग्राहीमा परेको असुविधाप्रति कर्मचारीहरूले क्षमायाचना गरेका छन्।








