जनकपुरधाम, फागुन— ५ । नेपाली कांग्रेस मधेश प्रदेश समितिले (भोली) फागुन ६ गते जनकपुरधाममा आयोजना गर्न लागेको ‘प्रतिज्ञा सभा’को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै आयोजना गर्न लागिएको उक्त सभामा करिब एक लाख नागरिकको सहभागिता रहने दाबी गरिएको छ ।


समितिका सभापति कृष्ण प्रसाद यादवद्वारा जारी विज्ञप्तिअनुसार सभा ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्व बोकेको जनकपुरधाममा आयोजना गरिनु आफैंमा विशेष सन्देश बोकेको कार्यक्रम हो। विज्ञप्तिमा यो कार्यक्रम केवल चुनावी सभा नभई मधेशको स्वाभिमान, समावेशी लोकतन्त्र, सामाजिक न्याय र राष्ट्रिय एकताको सन्देश दिने ऐतिहासिक अवसरका रूपमा लिइएको उल्लेख गरिएको छ ।
सभामा कांग्रेसका सभापति गगन कुमार थापा, उपसभापति विश्वप्रकाश शर्मालगायत केन्द्रीय तहका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको जनाइएको छ। सो अवसरमा पार्टीले सार्वजनिक गर्न लागेको चुनावी घोषणा–पत्र ‘प्रतिज्ञा पत्र’का मुख्य प्राथमिकताबारे जानकारी गराइनेछ। कांग्रेसले मधेशबाटै ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्नु मधेशलाई परिवर्तनको प्रारम्भ बिन्दुका रूपमा लिएको स्पष्ट संकेत भएको दाबी गरेको छ ।


विज्ञप्तिमा मधेश र कांग्रेसबीचको ऐतिहासिक सम्बन्धसमेत स्मरण गरिएको छ । २००७ सालको प्रजातान्त्रिक आन्दोलन, २०४६ सालको जनआन्दोलन तथा २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनमा मधेशका नागरिकको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै दुर्गानन्द झा, नारायण मिश्र र महेन्द्रनारायण निधीलगायत नेताहरूको योगदानप्रति सम्मान व्यक्त गरिएको छ ।


कांग्रेसले मधेश आन्दोलनपछिको राजनीतिक यात्रामा मधेशी जनताको पहिचान, अधिकार, समानुपातिक समावेशिता र सशक्तीकरणका मुद्दालाई आफ्नो मूल एजेण्डाका रूपमा अघि बढाउँदै आएको दाबी गरेको छ। आगामी कार्ययोजनामा कृषि आधुनिकीकरण, उद्योग तथा व्यापार विस्तार, सीमावर्ती क्षेत्रको व्यवस्थित विकास, युवालाई रोजगारी सिर्जना, महिला सशक्तीकरण तथा सामाजिक न्याय सुनिश्चित गर्ने विषयलाई प्राथमिकतामा राखिने जनाइएको छ । साथै सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा तथा संघीयताको प्रभावकारी कार्यान्वयनमा पार्टी प्रतिबद्ध रहेको उल्लेख छ ।


सभापति थापा सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवार बनेको प्रसंग उल्लेख गर्दै मधेश र राष्ट्रिय राजनीतिबीचको सम्बन्ध सुदृढ गर्ने सन्देशका रूपमा यसलाई व्याख्या गरिएको छ । मधेशको विकास र सम्मानबिना राष्ट्रिय समृद्धि सम्भव नहुने विश्वास पार्टीले दोहो¥याएको छ।


नेपाली कांग्रेस मधेश प्रदेश समितिले लोकतन्त्रप्रेमी नागरिक, पार्टीका अग्रज, युवा, महिला तथा कार्यकर्तालाई फागुन ६ गते जनकपुरधाममा उपस्थित भई कार्यक्रम सफल बनाउन आह्वान गरेको छ । ‘प्रतिज्ञा सभा’मार्फत जनतासँग प्रत्यक्ष संवाद गर्दै भावी राजनीतिक मार्गचित्र प्रस्तुत गरिने पार्टीले जनाएको छ ।