लालबन्दी, कात्तिक ३ गते । काठमाडौँलगायत देशका मुख्य सहरहरूमा तरकारी आपूर्ति गर्दै आएको जिल्लाकै मुख्य थोक तरकारी बजार लालबन्दीमा यति बेला तरकारीको भाउ निकै आकाशिएको छ । त्यसै पनि चाडपर्वको समयमा हरियो तरकारीको मूल्य उच्च हुने गरेकोमा यस वर्ष दशैँ ताका भएको अविरल वर्षाले किसानले लगाएको तरकारी सखाप परेपछि बजारमा तरकारीको मूल्य आकाशिएको हो ।
यो सिजनमा लालबन्दीस्थित थोक तरकारी बजारबाट दैनिक ७ गाडी तरकारी देशका मुख्य सहरहरू, काठमाडौँ, नारायणगढ, वीरगञ्ज, जनकपुर, हेटौँडा, सिन्धुली जाने गरेको भए पनि यस वर्ष वर्षाका कारण तरकारी बालीमा क्षति भएकाले बजारमै कम तरकारी आएकाले दैनिक ३ गाडी मुस्किलले लोड हुने गरेको लालबन्दी थोक तरकारी बजारका व्यवस्थापक शम्भु घिमिरेले जानकारी दिए ।


ईश्वरपुर नगरपालिका–७ मा व्यावसायिक तरकारी खेती गर्दै आएका कृषक रामलेचन महतोका अनुसार असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण तरकारी बालीमा क्षति भएकाले मूल्य आकाशिएको हो। बेमौसमी वर्षाले तरकारीका फूल झारेको र खेतमा पानी जम्दा बोट सुकेपछि उत्पादनमा ह्रास आएको उनले बताए । अहिले तरकारी कृषकले समेत किनेर खानु परेको छ । स्थानीय बालीमा क्षति भएपछि केही तरकारी बाह्य जिल्लाबाट समेत आयात हुन थालेका छन् । वर्षा अगाडि दशैँसम्म लालबन्दीमा तरकारीको मूल्य खासै बढेको थिएन । त्यसपछिका दिनमा भने हरियो तरकारीको भाउ तीन–चार गुणा बढेको छ ।
अहिलेसम्म पनि मुख्य चाड तिहार र छठ रहेकाले तत्काल मूल्य घट्ने सम्भावना कम रहेको तरकारी व्यापारीहरूको भनाइ छ । यहाँका किसानले आंशिक लाभ पाए पनि दैनिक उपभोग्य वस्तु तरकारीको अस्वाभाविक मूल्य वृद्धिले आम उपभोक्ता मारमा परेका छन् ।


वर्षा अघि प्रतिकिलो ३० रुपियाँमा बिक्दै आएको भिन्डीको भाउ अहिले ८० देखि १०० रुपियाँ पुगेको छ । प्रतिकिलो ५० देखि ६० रुपियाँ पर्ने तितेकरेला १३० देखि १५० रुपियाँ प्रतिकिलो पुगेको लालबन्दी थोक तरकारी बजारका व्यवस्थापक घिमिरेले बताए । दस रुपियाँ प्रतिमुठा पर्ने रायो साग अहिले ३५ देखि ४० रुपियाँ पुगेको छ । हरियो धनियापातको मूल्य अचाक्ली बढेको छ । व्यापारीले एउटा धनियाको बोट २० देखि २५ रुपियाँमा बेच्दै आएका छन् । भण्टा ६० रुपियाँ पुगेको छ ।
प्रतिकिलो ५० रुपियाँमा पाइने बोडी अहिले १४० रुपियाँ प्रति किलो थोक बिक्री भएको छ । लौका, फर्सी ३५ बाट बढेर १०० रुपियाँ, काउली स्थानीय १३० रुपियाँ पुगेको छ । लालबन्दीलाई तरकारी उत्पादनको पकेट क्षेत्र मानिन्छ । चाडपर्वका बेला हरियो तरकारीको खपत बढी हुने र कृषकले वर्षापछि लगाएको तरकारी बजारमा आउन ढिला हुने भएकाले तत्काल यसको मूल्यमा घट्ने सम्भावना कम देखिएको व्यापारीहरू बताउँछन्।