काठमाडौँ,माघ-११, प्रधानमन्त्री केपी शर्मा ओलीलेउनले एकता नै राष्ट्र निर्माणको बलियो आधार भएको बताएका छन्। उनले जात र भूगोलका नाममा विद्वेष फैलाउने काममा नलाग्न आग्रह गरे।
शुक्रवार बुटवल–गोरुसिङगे सडकखण्डको स्तरोन्नतिको भर्चुअल माध्यमबाट शिलान्यास गर्दै उनले जात, भूमि, भूगोल वा थर र धर्मका नाउँमा अनेक प्रकारका विद्वेष फैलाउने दुष्प्रयास भइरहेको तर विविधतालाई राष्ट्रिय एकतामा परिणत गर्दै अघि बढ्न जरुरी रहेको बताएका हुन्।
उनले हल्लाका पछाडि नभइ भविष्य उन्मुख भएर कामका पछाडि लाग्न पनि आग्रह गरे। उनले लोकतान्त्रिक बाटोबाट नै विकास सम्भव रहेको बताए।
‘म सम्पूर्ण नेपाली जनतालाई भन्न चाहन्छु, हल्लाका पछाडि होइन, कामका पछाडि सुन्दर भविष्य उन्मुख भएर हामी अघि बढौँ। लोकतान्त्रिक बाटोलाई हामीले अगाडि लिएर जानुपर्दछ।
यहाँ अस्थिरता बढ्न दिने, प्रतिगमन हुन दिने होइन‚’ प्रधानमन्त्री ओलीले भने, ‘यहाँ जात जात, भूमि, भूमिका नाउँमा, भूगोल भूगोलका नाउँमा वा थर थरका नाउँमा, धर्म धर्मका नाउँमा अनेक प्रकारका विद्वेष फैलाउन दिन होइन। हामी नेपालीहरू एकजुट भएर, एकताबद्ध भएर हाम्रा बीचका भिन्नता वा विविधतालाई राष्ट्रिय एकतामा परिणत गर्दै हामी अघि बढ्नुपर्छ।’
प्रधानमन्त्री ओलीले सम्पन्न भएका कामप्रति खुशी प्रकट गर्दै छिटोभन्दा छिटो जनतालाई सेवा दिन पाइयोस् भन्ने सरकारको उद्देश्य रहेको बताए। सरकार स्थिरता, दृढ निश्चयका साथ विकास निर्माणका प्रयासमा अघि बढिरहेको बताए।