
सर्लाही,कार्तिक -९,सर्लाहीको बरहथवामा शुक्रबार नागरिक सुनुवाइ कार्यक्रम गरिएको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाही र ईलाका प्रहरी कार्यालय बरहथवाको संयुक्त आयोजनामा नागरिक सुनुवाइ कार्यक्रम गरिएको हो।
बरहथवा नगरपालिका मेयर कल्पना कुमारी कटुवालको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकार , प्रहरी उपरीक्षक रवीन्द्र कुमार सिंह, सशस्त्र प्रहरी उपरीक्षक विनोद खनाल ,इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायव उपरीक्षक गौतम थापा ,उद्योग वाणिज्य संघ वरहथवाका अध्यक्ष रामबाबु साह, लगायतको सहभागिता रहेको थियो ।

सुनुवाइ कार्यक्रममा सहभागीले वरहथवा क्षेत्रमा बढ्दै गएको लागुओैषध कारोबार ,बजार अनुगमनको अभाव, स्वास्थ्य संस्थाहरुको मनपरि र बजार व्यवस्थापन लगायतका विषयमा जिज्ञासा राखेका थिए।
सहभागीले इलाका प्रहरी कार्यालय बरहथवामा महिला प्रहरीको जनशक्ति अभाव भएको र सवारी साधनको राम्रो व्यवस्थापन हुन नसक्दा सुरक्षा चुनौती थपिएको गुनासो गरेका थिए।
प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले यस क्षेत्रमा बढ्दो लागुओैषध नियन्त्रण तथा बजार अनुगमनका लागि मातहतका निकायलाई निर्देशन दिए ।

तीन महिनाको अवधिमा इलाका प्रहरी कार्यालय बरहथवाले विभिन्न प्रकृतिका ४६ वटा मुद्दा दर्ता गरेको र अबैध भन्सारछलीका ७ लाख ७६ हजारको अवैध समान बरामद गरि भन्सारमा बुझाएको प्रहरी नायव निरीक्षक गौतम थापाले जानकारी दिए।
सुनुवाइ कार्यक्रममा वरहथवा नगरपालिका वडाध्यक्ष तथा कार्यपालिका सदस्य , विभिन्न संघसंस्थाका प्रतिनिधि र स्थानीयको सहभागीता थियो।









