सर्लाही, कार्तिक -८,जिल्लाको चन्द्रनगर गाउँपालिकामा भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन सम्बन्धि कार्यक्रम सम्पन्न भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासको आयोजना तथा चन्द्रनगर गाउँपालिकाको सहकार्यमा बिहिवार उक्त कार्यक्रम गरिएको हाे ।
स्थानिय तह स्तरीय अन्तरक्रिया कार्यक्रममा चन्द्रनगर गाउँपालिका अध्यक्ष राजकुमार महतोले गलत अख्तियारी, गलत कामको प्रयोगबाट जन्तालाई असर पर्ने भएकोले आफूहरू यश विषयमा गम्भिर रहेको बताए ।


अध्यक्ष महतोले गलत अख्तियारी र गलत कामको प्रयोगले समाजमा नकारात्मक असर पार्ने हुँदा आफूहरू यस विषयमा सतर्क रहेको बताए। उनले भने, “भ्रष्टाचारले परिवार र समाजमा प्रत्यक्ष असर पार्दछ। त्यसैले अवसर प्राप्त गरेपछि र जिम्मेवार पदमा पुगिसकेपछि सुशासन कायम गर्न हामीले हर सम्भव प्रयास गर्नुपर्दछ।“ यस्ता कार्यक्रमहरूले जनप्रतिनिधिलाई थप उर्जा प्रदान गर्ने भन्दै, महतोले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई धन्यवाद पनि दिए।
कार्यक्रमको क्रममा अध्यक्ष महतोले विकास र समृद्धिका लागि नागरिकले प्रश्न गर्ने र उजुरी गर्ने अधिकार हुनुपर्नेमा जोड दिए। तर, उनले गलत नियतले गरिएका उजुरीले कर्मचारी र जनप्रतिनिधिलाई अनावश्यक रूपले दण्डित गरिरहेको भन्दै चिन्ता व्यक्त गरे।
“विकास निर्माणका कामहरू गलत उजुरीका कारण रोक्नुपर्ने अवस्था आएको बताउदै यस्ता उजुरीहरूको छानबिन फरक तरिकाले गरिनु पर्ने बताए ।
कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयका उपसचिव तुलसीराम पौडेलले भ्रष्टाचार नियन्त्रणमा जनताको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले जनप्रतिनिधि र कर्मचारीहरूलाई जनउत्तरदायी बढाउनका लागि प्रेरित गर्न यस्ता कार्यक्रमहरूको आवश्यक्ता रहेको बताए।


चन्द्रनगर गाउँपालिकाकी उपाध्यक्ष गिता देवी महतोले सुशासन प्रवर्धनका लागि पालिका स्तरमा निरन्तर प्रयास गरिरहेको बताइन्। उनले भनिन्, “सुशासन कायम राख्न प्रत्येक जनप्रतिनिधि र कर्मचारीले इमानदारिता र पारदर्शि ढंगले काम गर्नुपर्छ।“
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वकिल प्रसाद पालले भ्रष्टाचारविरुद्ध जनचेतना जगाउन पालिकाले अख्तियारको सहकार्यमा विभिन्न अभियानहरू सञ्चालन गरिरहेको जानकारी दिए। उनले भने, “हामीले पालिकामा जनताको सशक्त सहभागितामा काम गर्दै भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकता दिएको छौं।
कार्यक्रममा उपस्थित जनप्रतिनिधि तथा कर्मचारीहरूले भ्रष्टाचारविरुद्धको लडाइँमा आ–आफ्नो तर्फबाट भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए। कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विभिन्न सचेतनामूलक प्रस्तुति प्रस्तुत गरियो।