लालबन्दी, पुस २ गते । सर्लाहीको दुई स्थानीय तह लालबन्दी नगरपालिका र हरिपुर्वा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतले औपचारिक रूपमा कार्यभार सम्हालेका छन् । दुवै नगरपालिकामा उपसचिव तहका कर्मचारी प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका हुन् ।


लालबन्दी नगरपालिकामा उपसचिव पितानाथ लुइँटेल प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका छन् । उनलाई बुधवार नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, नगरका वडाध्यक्ष तथा कर्मचारीहरूले स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । उनको कार्यकालमा नगरपालिकाको प्रशासनिक कार्य थप प्रभावकारी, पारदर्शी र सेवामुखी बनाउने अपेक्षा गरिएको छ ।


त्यस्तै हरिपुर्वा नगरपालिकामा उपसचिव सन्जिव साह प्रमुख प्रशासकीय अधिकृतको रूपमा हाजिर भएका छन् । नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरूले उनलाई स्वागत गर्दै नगरको समग्र प्रशासनिक तथा विकास कार्यलाई गति दिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।


यसअघि लालबन्दी नगरपालिकामा कार्यरत उपसचिव वसन्त न्यौपाने अनिवार्य अवकाशमा गएपछि र हरिपुर्वा नगरपालिकाका उपसचिव सिकिन्द्र साह सरुवा भएपछि दुवै नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा थियो । नयाँ प्रमुख प्रशासकीय अधिकृतको नियुक्तिसँगै दुवै नगरपालिकामा प्रशासनिक कामकाज थप व्यवस्थित हुने, विकास निर्माण तथा सेवा प्रवाहमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।


त्यस्तै बुधवारनै भूमी समस्या समाधान आयोग जिल्ला समिति सर्लाहीले आयोगका सदस्य सचिवसमेत रहेका नापी कार्यालय मलंवाका नयाँ प्रमुख नापी अधिकृत सुमन किशोर मिश्रालाई आयोगको कार्यालयमा स्वागत गरेको छ । जिल्लाका समन्वय प्रमुख कौशल किशोर सिंको प्रमुख आतिथ्यतामा स्वागत तथा परिचयात्मक कार्यक्रम गरिएको आयोगका सर्लाही प्रमुख मदन विश्वकर्माले चियोचर्चो दैनिकलाई जानकारी दिए । कार्यक्रममा आयोगका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।