निरज यादव/बसबरिया,पुस —२ गते । सर्लाहीको बसबरिया गाउँपालिकामा बजेट विवादले चर्को रूप लिँदा शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीले ६ महिनादेखि तलबविहीन बन्न पुगेका छन् । तलब नपाएपछि उनीहरू बुधवारदेखि गाउँपालिका कार्यालय परिसरमा अनिश्चितकालीन धर्नामा बसेका छन् ।


चालू आर्थिक वर्ष २०८२/८३ को बजेट अहिलेसम्म पारित हुन नसक्दा गाउँपालिकाको सम्पूर्ण प्रशासनिक र सेवा प्रवाह प्रभावित बनेको छ । जनप्रतिनिधिबीच सहमति जुट्न नसक्दा गएको असारमै सुरु भएको गाउँसभाको प्रक्रिया अझै निष्कर्षमा पुग्न सकेको छैन ।


बजेट बाँडफाँडसम्बन्धी विषयमा बन्दसत्रमै विवाद चर्किएपछि समस्या उत्पन्न भएको हो । यसले विद्यालय, स्वास्थ्य संस्था र कार्यालयका कर्मचारीलाई प्रत्यक्ष मारमा पारेको छ । कर्मचारीहरुले ६ महिनासम्म तलब नपाउँदा दैनिक जीवनयापन नै कठिन बनेको गुनासो गरे । केही साताअघि मात्र हाजिर भएका निमित्त प्रमुख प्रशासकीय अधिकृत मिनबहादुर थापाले जनप्रतिनिधिबीच सहमति गराउन निरन्तर प्रयास भइरहे पनि राजनीतिक अडानका कारण समाधान ननिस्किएको बताए ।


गत भदौमा गाउँपालिका अध्यक्ष रामसिंहासन रायले बन्दसत्रमार्फत बजेट पारित गर्ने प्रयास गरे पनि उपाध्यक्ष सरिता कुमारीले उच्च अदालत जनकपुरमा निवेदन दायर गरेपछि प्रक्रिया अवरुद्ध भएको थियो । अदालतले उपाध्यक्षको सहभागिताबिना बजेट, योजना तथा राजस्वसम्बन्धी निर्णय नगर्न अन्तरिम आदेश जारी गरेपछि गाउँपालिकाका सबै निर्णय प्रक्रिया ठप्प भएको छ ।


अध्यक्ष रायले अदालतको आदेशका कारण आफू केही गर्न नसक्ने अवस्थामा पुगेको बताए । उपाध्यक्षले दायर गरेको मुद्दाको पेशी पुस २२ गते तोकिएको छ । अध्यक्ष रायले उपाध्यक्षलाई सहमतिमा ल्याउन पटक–पटक प्रयास गरिए पनि सफल हुन नसकेको बताए । यता उपाध्यक्ष सरिता कुमारीले भने संविधानले दिएको अधिकार र जिम्मेवारी आफूलाई प्रयोग गर्न नदिइएको बताइन् । उनले आफू संयोजक रहेको समितिको बैठकसमेत बस्न नदिइएको गुनासो गरिन् ।स्थानीय राजनीतिक विवादका कारण तलब रोकिँदा कर्मचारी आन्दोलित बनेका छन् भने बजेट पारित नहुँदा गाउँपालिकाको शिक्षा, स्वास्थ्य र विकास निर्माणका काम ठप्प भएको छ । अब अदालतको निर्णय र जनप्रतिनिधिबीचको सहमतिले मात्रै यो समस्याको निकास दिन सक्ने स्थानीयको विश्वास छ ।