एसपी यादव/मलंगवा
पुस २ गते । जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेका छन् । बुधवार जसपा नेपालको केन्द्रीय कार्यालय काठमाडौमा आयोजित एक कार्यक्रमकाबीच पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले चौधरीलाई पार्टीको सदस्यता प्रदान गरी पार्टीमा भित्र्याएका हुन ।


पार्टी प्रवेशपछि चौधरीले, मधेशका मुद्दा, अधिकार र पहिचानलाई संस्थागत गर्नका लागि जसपा नेपाल उपयुक्त शक्ति भएको उल्लेख गरे । उनको प्रवेशले मधेश प्रदेशमा पार्टीको संगठन थप मजबुत हुने विश्वास जसपा नेपालका नेताहरूले व्यक्त गरेका छन्।


कार्यक्रममा जसपा नेपालका मधेस प्रदेश अध्यक्ष बालकिशोर यादव, सर्लाही जिल्ला अध्यक्ष रणधिर यादव, केन्द्रीय सदस्य पेशल ढकाल, कविलासि नगरपालिकाका पुर्व मेयर कौशल किशोर यादव र बसवरिया गाउँपालिका अध्यक्ष राम सिहासन राय लगायतका नेताहरूको उपस्थिति रहेको थियो । यस अघि उनले पार्टी अध्यक्षलाई सम्बोधन गर्दै हस्तलिखित राजीनामा पत्र बुझाएका थिए ।


‎राजीनामा पत्र मार्फत चौधरीले पार्टी आफ्नो नीति सिद्धान्तबाट विचलित भएको, भ्रष्टाचारमा लिप्त भएको तथा नातावाद हाबी भएकाले पार्टीभित्र काम गर्ने वातावरण नरहेको आरोप लगाएका छन् । उनी सर्लाहीको हरिपुर्वा–४ का स्थानीय वासिन्दा हुन । उनले गत निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ (क) अन्तर्गत जनमत पार्टीबाट चुनावमा प्रतिस्पर्धा गरि वर्तमान मधेश प्रदेशका स्वास्थ मन्त्री जंगीलाल रायसंग पराजित भएका थिए ।