
मलंगवा, मंसिर २१ गते । सर्लाही प्रहरीले स्रोत नखुलेको नेपाली रुपैयाँ सहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ । भारतको सोनवर्षाबाट नेपालतर्फ आउँदै गरेका बिहार राज्य, सितामढी जिल्ला, ग्राम पञ्चायत सोनवर्षा–२ का २९ वर्षीय धर्मेन्द्र महतो पक्राउ परेका हुन् ।

ब्रह्मपुरी गाउँपालिका–४ स्थित त्रिभुवननगर प्रहरी चौकीको पछाडिको बाटो हुँदै बीआर ३० वाई ३२८७ नम्बरको मोटरसाइकलमा नेपाल प्रवेश गरिरहेका महतो गस्ती टोलीको चेकजाँचका क्रममा रोकिएका थिए । प्रहरी निरीक्षक प्रमान्नद प्रसाद यादवको कमान्डमा खटिएको टोलीले मोटरसाइकल रोकेर चेकजाच गर्दा महतोको साथबाट ठूलो मात्रामा नेपाली रुपैयाँ फेला परेको हो।

प्रहरीका अनुसार हजारका ८१४ थान, पाँच सयका ६७१ थान, सयका ७१२ थान र पचासका १६६ थान गरी कुल १२ लाख २९ हजार रुपैयाँ बरामद गरिएको हो। रकमको स्रोत खुल्न नसकेपछि महतोसहित मोटरसाइकल र बरामद रकम त्रिभुवननगर प्रहरी चौकीमा राखी प्रारम्भिक अनुसन्धान पछि थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइएको प्रहरीले जनाएको छ ।












