
मलंगवा, मंसिर २०— नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले आगामी १५औँ महाधिवेशन र फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन दुवैको तयारी संगठित रूपमा अघि बढाइरहेको बताएका छन् । नेपाल प्रेस युनियन सर्लाहीले शनिवार मलंगवामा आयोजना गरेको पत्रकार सम्मेलनमा थापाले केही नेताहरूले महाधिवेशनका कारण निर्वाचन तयारी कमजोर हुने चिन्ता व्यक्त गरे पनि पार्टीले दुवै प्रक्रिया समानरूपमा पूरा गर्ने स्पष्ट पारे ।

महाधिवेशन गर्ने—नगर्ने विषयमा केही समय बिते पनि अब छोटो अवधिमै महाधिवेशन सम्पन्न गरी निर्वाचनमा केन्द्रित हुने निर्णय भइसकेको छ,’महामन्त्री थापाले भने । थापाले फागुन २१ को निर्वाचन संविधान र लोकतान्त्रिक प्रक्रियालाई जोगाउने महत्वपूर्ण अवसर भएको बताए ।

’हामी निर्वाचनप्रति पूर्ण प्रतिबद्ध छौँ,’ उनले भने, ‘अन्य दलहरू पनि तयार भइसकेकाले सरकारले सबै संशय हटाएर विश्वासिलो वातावरणमा निर्वाचन गर्नुपर्छ । जेनजी प्रदर्शनपछि फरार कैदीबन्दी र लुटिएका हतियारले सुरक्षा चुनौती उत्पन्न गर्न सक्ने जानकारी सरकारले पाइसकेको छ, र समयमै नियन्त्रण आवश्यक छ।’

प्रधानमन्त्री सुशीला कार्कीद्वारा राखिएको सर्वदलीय बैठकमा पनि यी सुरक्षा र सहभागितासम्बन्धी मुद्दा उठाइएको थापाले बताए । सबै समूह र राजनीतिक दलले निर्बाध रूपमा चुनावमा भाग लिन पाउनुपर्ने उनको जोड थियो। महामन्त्री थापाले नयाँ नीति, सन्देश र दृष्टिकोणसहित आफुले सभापतिमा उम्मेदवारी दिने तयारी गरेको बताए । उनले चाँडै देश दौडाहामा निस्किने जानकारी पनि दिए। यसपटक पनि काठमाडौंबाटै चुनाव लड्ने प्रष्टपार्दै उनले प्रायः आफ्नै निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्ने पार्टी परम्परा भएकाले आफू त्यही क्षेत्रबाटै उम्मेदवार बन्ने बताए।











