तस्बिर साैजन्य : सुरेश यादव


लालबन्दी, मंसिर— २१ गते । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आइतवार मन्त्रिपरिषद् विस्तार गर्दै तीन जना मन्त्री नियुक्त गरेका छन्। कांग्रेसका जंगीलाल राय र समाजवादीका कनिष पटेल विना विभागीय मन्त्री बनेका छन् भने जनमत पार्टीका महेश यादव अर्थ मन्त्रालयको जिम्मेवारी पाएका छन्।

सर्लाही–२ (क) बाट निर्वाचित जंगीलाल राय नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य हुन्। २०७९ मा भएको प्रदेशसभाको सभामुख निर्वाचनमा उनी नेकपा एमालेका रामचन्द्र मण्डलसँग प्रतिस्पर्धा गरेका थिए। तत्कालीन सत्ता गठबन्धनबाट मण्डल निर्वाचित भएका थिए।


आईतवार तिनै मन्त्रीलाई प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले पद तथा गोपनीयताको शपथ गराएका छन्। यस्तै, आईतवारनै बसेको मन्त्रिपरिषद् बैठकले संविधानको धारा १०३ बमोजिम गठन भएको नेकपा एमाले नेतृत्वको सरकारले गरेका सबै निर्णयहरू बदर गर्ने निर्णय गरेको छ।

बैठकले गत कात्तिक २३ देखि मंसिर १७ सम्मका निर्णय र मंसिर १५ गते सर्वोच्चको परमादेशपछि भएका नियुक्ति तथा कर्मचारी सरुवाहरू पनि रद्ध गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री यादवले मंसिर २४ गते विश्वासको मत लिन प्रदेशसभामा जाने तयारीमा छन्।