
लालबन्दी, असोज -२८ गते । चर्चित गजलकार विवश पौडेलद्वारा लिखित गजल संग्रह ‘धर्तीको जून’ ले वर्ष २०८१ को छायाँदेवी–चेतनाथ राष्ट्रिय गजल पुरस्कार प्राप्त गरेको छ। भदौ मसान्तसम्म प्रकाशित गजल संग्रहहरूबीचको मूल्याङ्कनपछि पौडेलको कृति उत्कृष्ट ठहरिँदै पुरस्कृत हुने घोषणा गरिएको हो।

गजलकार जे. सागरको संरक्षणमा रहेको उक्त पुरस्कार कोषबाट पौडेललाई नगद रू. १०,००० सहित सम्मानपत्र प्रदान गरिने आयोजकले जनाएका छन्। पुरस्कार आगामी कात्तिक १ गते, शनिवार काठमाडौंमा आयोजित विशेष कार्यक्रममार्फत् हस्तान्तरण गरिनेछ।
पुरस्कार प्राप्तिको खबर सार्वजनिक भएपछि गजलकार पौडेलले सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै लेखेका छन्, “छायाँदेवी–चेतनाथ राष्ट्रिय गजल पुरस्कार प्राप्त गरेको खुसीमा म अत्यन्तै आनन्दित छु।” साथै, उनले पुरस्कारका संरक्षक जे. सागर, संयोजक तथा आवाजका बादशाह अच्युत घिमिरे ‘बुलबुल’ र बुलबुल कम्युनिकेसनप्रति विशेष धन्यवाद व्यक्त गरेका छन्।

लालबन्दी नगर वाङ्मय परिषद्का कोषाध्यक्ष समेत रहेका विवश पौडेलको यस कृतिमा समकालीन जीवन, सामाजिक यथार्थ र भावनात्मक संवेदना समेटिएका गजलहरू समावेश छन्। गजल साहित्यको समृद्धिमा उल्लेखनीय योगदान पुर्याउँदै आएका पौडेलको यो कृति समालोचक र पाठकहरूबाट प्रशंसा बटुल्न सफल भएको छ। बुलबुल र बुलबुल परिवारद्वारा जारी विज्ञप्तिमा गजल संग्रह ‘धर्तीको जून’लाई सम्मानित गर्न पाउँदा गर्व लागेको उल्लेख गरिएको छ।










