
हुम्ला, असार २२ – प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली करिडोरलाई दुई छिमेकी मुलुक चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा विकास गरिने घोषणा गरेका छन्।
खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा आज आयोजित कार्यक्रममा चुवाखोलामा निर्माण गरिएको बेलिब्रिजको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले कर्णाली करिडोर अब दुई लेनको बनाइने र तत्काल कालोपत्रे गर्ने सरकारको योजना रहेको बताए।

“यो करिडोर कर्णाली र हुम्लावासीको मात्र नभई नेपाल, चीन र भारतबीचको व्यापारिक सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण आधार हुनेछ,” प्रधानमन्त्री ओलीले भने।
उनले हुम्ला सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडिनु देशको भौगोलिक एकीकरणको दिशामा ठूलो उपलब्धि भएको बताए। चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने जानकारी दिंदै प्रधानमन्त्रीले निर्माणाधीन सडकलाई अप्ठ्यारो भूगोलमा ढलान गरेर भए पनि स्तरोन्नति गरिने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले चीनसँगको हिल्सा नाकामा छिट्टै क्वारेन्टाइन निर्माण गरिने प्रतिबद्धता जनाउँदै व्यापारिक सम्भावना विस्तार गर्न पूर्वाधार आवश्यक रहेको बताए।
नेपाली सेनाले चैत १० गतेदेखि चुवाखोलामा बेलिब्रिज जडानको कार्य सुरु गरेको थियो। असार १० गते सम्पन्न भएको उक्त पुलको उद्घाटन गर्न प्रधानमन्त्री ओली आज नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँबाट सुर्खेत हुँदै खार्पुनाथ पुगेका हुन्। स्थानीय बासिन्दाले बाजागाजासहित प्रधानमन्त्रीलाई स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीसँगै रक्षामन्त्री मानवीर राई, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी, मुख्यमन्त्री यामलाल कँडेल, प्रधानसेनापति अशोकराज सिग्देल र पूर्वाधार सचिव केशवकुमार शर्मा पनि सहभागी थिए।

सरकारद्वारा राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाइएको कर्णाली करिडोर २६ वर्षपछि हुम्ला सदरमुकाम सिमकोटसम्म पुगेको हो। यसले कर्णाली क्षेत्रलाई उत्तर र दक्षिणका अन्तरदेशीय सडक सञ्जालसँग जोड्दै व्यापार, पर्यटन र समृद्धिको ढोका खोल्ने विश्वास गरिएको छ।








