सर्लाही, असार- २२, जिल्लाको बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा प्रहरीले पराल भित्र लुकाई काठमाण्डौं लादै  गरेको काजुसहितको मिनि ट्रक नियन्त्रणमा लिएको छ।


इलाका प्रहरी कार्यालय कर्मैयाबाट प्र.ना.नि. सुभाष यादवको कमाण्डमा खटिएको टोलीले आज बिहान ११ :३० बजे विशेष सूचनाको आधारमा मदनपुरबाट काठमाण्डौं जाँदै गरेको ग २ ख १४१८ नम्बरको मिनि ट्रकलाई रोकी जाँच गर्दा परालको भुस बीचमा लुकाई ल्याइएको ८२० केजी काजु फेला परेको हो।


काजु २८ वटा प्लास्टिकका बोरामा प्याक गरिएको र प्रत्येक बोराभित्र १० किलोका ८२ वटा प्लास्टिक बाल्टिनमा राखिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।
बरामद काजुको अनुमानित बजार मूल्य १२ लाख ३० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । प्रहरी नियन्त्रणमा लिएको  ट्रकको मूल्य करिब २५ लाख रुपैयाँ रहेको बताइएको छ। बरामद सामान र ट्रक गरि झण्डै  ३७ लाख ३० हजार रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार ट्रक चालक सर्लाही बरहथवा नगरपालिका–१३ बसबरीया निवासी करिब ५६ वर्षीय राजबंशी झा रहेका छन्। उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय कर्मैयामा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।