काठमाडौं, फागुन —२ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१ मा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ। लेलेबाट बालुवा बोकेर कालेश्वरतर्फ जाँदै गरेको बागमती प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक गएराति करिब ९ बजे सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य दुई जनाको उपचारका क्रममा ज्यान गएको हो।

प्रहरीका अनुसार मृतक चालक गोदावरी नगरपालिका–६ निवासी ५२ वर्षीय गणेश खड्का र सोही स्थानका ४२ वर्षीय गणेश थापा रहेका छन्। उनीहरूको घटनास्थलमै मृत्यु भएको थियो।

दुर्घटनामा घाइते भएका अन्दाजी ४० र ५० वर्षीय दुई पुरुषलाई उपचारका लागि पाटन अस्पताल लगिएकोमा अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए।  प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान अघि बढाएको छ।