धनकौल, कात्तिक— २३ गते । सर्लाहीको धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि किसानलाई दिन बाँकी उखुको भुक्तानी नदिँदा किसानहरू पुनः सडकमा उत्रिएका छन् । आफ्नो उत्पादनको उचित मूल्य नपाएको भन्दै किसानहरूले आइतवारदेखि उद्योगको मुख्य गेटमा धर्ना सुरु गरेका हुन् ।
किसानहरूको भनाइअनुसार आर्थिक वर्ष २०७०÷०७१ यता उखुको रकम नपाउँदा उनीहरू आर्थिक संकटमा परेका छन्। गत वर्ष समेत मूल्य निर्धारण नहुदै मिल सञ्चालन गरिएको थियो । मूल्य निर्धारण पछि बढेको २० रुपैया समेत पटक–पटक माग गर्दा पनि उद्योगले नदिएपछि आफुहरुले आन्दोलनलाई अन्तिम विकल्पका रूपमा अघि सारेको उनीहरुले बताए ।


२०८० साल फागुन ६ गते जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा उद्योगले २०८१ साल जेठ मसान्तभित्र सम्पूर्ण बक्यौता रकम भुक्तानी गर्ने लिखित वाचा गरेको भए पनि अहिलेसम्म त्यसको कार्यान्वयन भएको छैन । उखु किसानका अगुवा राम आधार राय यादवका अनुसार अन्नपूर्ण चिनी उद्योगले करिब ९ करोड ७० लाख रुपैयाँ किसानलाई तिर्न बाँकी राखेको छ। “हामीले वर्षौं मेहनत गरेर उत्पादन गर्छौं, तर आफ्नै उत्पादको मूल्य पाउन वर्षौं कुर्नुपर्छ,” यादवले भने, “अब आन्दोलनबाहेक विकल्प छैन।”


एता उद्योग प्रशासनको भने फरक मत छ । उद्योगका प्रशासकीय प्रमुख रमेश प्रसाद श्रीवास्तवका अनुसार पुरानो भुक्तानीसम्बन्धी मुद्दा हाल सर्लाही जिल्ला अदालतमा विचाराधीन छ । उनका अनुसार उद्योग २०७७ मा राकेश अग्रवालबाट शैलेन्द्र गुप्ताले खरिद गरेका थिए, र पुरानो बक्यौता कसले तिर्ने भन्ने विषयमा कानुनी विवाद चलिरहेको छ । “हामी कानुनी बाटाबाट समाधान खोजिरहेका छौं,” उनले स्पष्ट पारे।
श्रीवास्तवका भनाइमा गत वर्ष मूल्य नतोकिँदै मिल सञ्चालन गरिएकाले र उत्पादन पनि अपेक्षाकृत कम भएकाले उद्योग आर्थिक संकटमा परेको हो।

तर किसानहरूले उद्योगका यी तर्कहरूलाई अस्वीकार गरेका छन्। उनीहरूको भनाइमा उद्योगले विगतमा पनि पटक–पटक आश्वासन दिएर किसानलाई झुक्याउँदै आएको छ। किसानहरूको आन्दोलनले अहिले पुनः उखु भुक्तानी विवादलाई सतहमा ल्याएको छ ।