लालबन्दी, कात्तिक— २३ गते । नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीका सक्रिय सदस्य तथा समाजसेवी सुरेन्द्र प्रधानले संस्थालाई एक लाख पचास हजार रुपैयाँ (रु. १,५०,०००) सहयोग गर्दै “एयस्कर सदस्य” बनेका छन्। समाजसेवी प्रधानले आइतवार संस्थाकै कार्यालयमा उपस्थित भई सो रकम बराबरको चेक संस्थाका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन् ।
रेडक्रस उपशाखा लालबन्दीका अध्यक्ष ध्रुव घिमिरेले लामो समयदेखि रेडक्रसको कार्यसमितिमा सक्रिय रहँदै आउनुभएका प्रधानको समाजसेवामा ठूलो योगदान रहेको उल्लेख गर्दै उहाँले “एयस्कर सदस्य” बनेर संस्थाको सुदृढीकरणमा सहयोग पु¥याएको भन्दै आभार व्यक्त गरे।


उनका अनुसार उपशाखाका एयस्कर सदस्यहरूमा स्व. नारायणराज जोशी, अध्यक्ष ध्रुव प्रसाद घिमिरे, भानुभक्त बराल, भवानी कोइराला र हाल सुरेन्द्र भक्त प्रधान रहेका छन्। लालबन्दी–१७ टिकुलिया निवासी प्रधानले रेडक्रस उपशाखा बाहेक विभिन्न मठ–मन्दिर, सार्वजनिक भवन निर्माण, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासमा समेत सहयोग गर्दै आएका छन्।
प्रधानले आँखा अस्पताल निर्माणको महान् कार्यमा अन्य दाताहरूलाइ पनि सहभागी हुन आग्रह गरेका छन्। नेपाल रेडक्रस सोसाइटी लालबन्दी उपशाखाले लायन्स क्लबसँगको सहकार्यमा झण्डै दुई करोड रुपैयाँ बराबरको आँखा अपरेशन र उपचार सेवाका अत्याधुनिक उपकरणहरू मंसिर महिनाभित्रै प्राप्त गर्ने अपेक्षा गरेकोछ । संस्थाका सचिव भरत प्रसाद गौतमका अनुसार लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ ‘एच’ अन्तर्गतका करिब दुई करोड रुपैयाँ मूल्यका ती उपकरणहरू नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीलाई हस्तान्तरण गर्न तयारी भइरहेको छ।


अध्यक्ष घिमिरेले भने, “उपकरण प्राप्त भएपछि हाल सञ्चालनमा रहेको हाम्रो सेवा केन्द्रलाई अस्पतालमा रूपान्तरण गरी विशेषज्ञ चिकित्सक सहित नियमित आँखा शल्यक्रिया (अपरेशन) सेवा सञ्चालन गर्न सक्षम हुनेछौं।” उनका अनुसार संस्थाले जम्मा गर्नुपर्ने भनिएको १७ हजार ७६० अमेरिकी डलर अर्थात् करिब २५ लाख ४० हजार रुपैयाँ जुटाइ पठाइसकिएको छ, र अव आउने मंसिर महिनाभित्रै उपकरणहरू प्राप्त हुनेछन्।


लालबन्दी नगरपालिका–५ स्थित जरूवापानीमा रहेको सामुदायिक आँखा उपचार सेवा केन्द्रबाट हाल नियमित सेवा दिइँदै आएको छ । २०६५ साल कात्तिक २५ गतेदेखि नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले जानकी आँखा अस्पताल जनकपुरको सहकार्यमा नेत्ररोगका बिरामीहरूलाई सेवा दिँदै आएको हो । रेडक्रसले लायन्स क्लबहरूसँग सहकार्य र समन्वय गर्दै सामुदायिक स्वास्थ्य अन्तर्गत आँखाको उपचारमा नयाँ आयाम थप्ने दृढ संकल्प व्यक्त गरेको उपशाखाका सचिव भरत प्रसाद गौतमले बताए।