सर्लाही , असार- २८, जिल्लामा स्थानीय भाषा, कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनका लागि स्थापना गरिएको लालबन्दी नगर वाङ्मय परिषद्को अध्यक्षमा अच्युत अधिकारी पुनः सर्वसम्मत रूपमा चयन भएका छन्। परिषद्को दोस्रो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको हो।


साहित्यिक मासिक पत्रिका गोलसिमल मार्फत नेपाली साहित्यकाे बिकासमा क्रियाशील अधिकारी यसअघि पनि परिषद्को अध्यक्ष रहिसकेका थिए।
कार्यसमितिको अन्य पदाधिकारीमा उपाध्यक्ष राजेश्वरी काफ्ले, सचिव सुमन घिमिरे, कोषाध्यक्ष विवश पौडेल चयन भएका छन्। त्यस्तै, सदस्यहरूमा रीता कोइराला, सूर्यप्रसाद बराल, टीकाराम श्रेष्ठ, सुमित्रा आचार्य, रामहरि बराल र रामदरेश महतो रहेका छन्।


परिषद्‌मा तीन जना सदस्य नगर प्रमुखबाट मनोनित गरिने र एक जना सदस्य नगरपालिकाबाट तोकिने व्यवस्था रहेको नवनिर्वाचित अध्यक्ष अधिकारीले जानकारी दिए।
अधिवेशनको उद्घाटन सत्रमा लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारी, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, जनज्योति बहुमुखी क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष दीपक अधिकारी तथा क्याम्पस प्रमुख वीरेन्द्र चौधरीलगायतको आतिथ्यता रहेको थियो।


उक्त अवसरमा परिषद्को गतिविधिमा सहयोग पुर्‍याउने विप्रहरि दाहाल, कुमार दाहाल, कवि सुवेदी, नगरपालिकाको लोगो निर्माणकर्ता कोमलप्रसाद गौतमसहित विभिन्न संघसंस्थालाई सम्मान गरिएको परिषद्का सचिव सुमन घिमिरेले जानकारी दिए।