सर्लाही , असार- २८,  डिभिजन वन कार्यालय सर्लाहीले वन संरक्षण, अतिक्रमण नियन्त्रण र काठ तस्करी रोकथाममा सञ्चारकर्मीको भूमिका सशक्त बनाउन आज जिल्लाका पत्रकारलाई लक्षित निरीक्षण भ्रमण आयोजना गरेको छ।


डिभिजन वन प्रमुख सन्तोषकुमार झाले पत्रकारलाई चालु आर्थिक वर्ष २०८१/८२ मा सम्पन्न योजना, उत्पादन गरिएका विरुवा, वृक्षरोपण क्षेत्र र अन्य नियमित गतिविधिबारे जानकारी गराएका थिए।


प्रमुख झाले कार्यक्रममा बागमतीमा निर्माणाधीन माछा पोखरी (भरत ताल) वन अतिक्रमणसम्बन्धी मुद्दा, अतिक्रमण हटाउने अभियान, काठ तस्करी नियन्त्रण, र लखन्देही लखाधार आयोजना अन्तर्गत भइरहेको कार्य प्रगतिबारे पनि विस्तृत जानकारी दिइएका थिए ।


कार्यक्रममा वन अधिकृत, कर्मचारी तथा जिल्लाका विभिन्न सञ्चारमाध्यमका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता  रहेको थियो।