![]()
काठमाडौँ, असार- २८, देशका अधिकांश भूभागमा शनिबार सामान्य बदलीको अवस्था रहने पूर्वानुमान गरिएको छ भने बागमती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा हल्का वर्षा भइरहेकाे र बाँकी क्षेत्रमा आंशिक बदली रहेको छ। आज रातिसम्म देशका अधिकांश पहाडी क्षेत्रहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।

वर्षासँगै पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। सम्भावित भारी वर्षाका कारण भूक्षय, बाढी, पहिरो र गेग्रान बहावको जोखिम बढ्ने देखिएकोले सतर्क रहन अनुरोध गरिएको छ।

शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम बढेको भन्दै नदी, नाला र साना खोलामा पानीको सतह अचानक बढ्न सक्ने पूर्वानुमान छ। जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सचेत रहन, आवश्यक सतर्कता अपनाउन र पूर्व तयारी गर्न महाशाखाले सुझाव दिएको छ।









