![]()
सर्लाही,असार — २६, जिल्लाको कविलासी नगरपालिकामा बिहिवार (आज)बाट आँखा उपचार सेवा सुरु गरिएको छ। कविलासी नगरपालिका–८, अगर्वामा सञ्चालनमा ल्याइएको आँखा उपचार केन्द्रको नगर प्रमुख ब्रह्मदेव राय र उपमेयर पुनम कर्णले उद्घाटन गरेका हुन ।

नेपाल नेत्रज्योति संघ, हिरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थान भरतपुर आँखा अस्पताल चितवन र कविलासी नगरपालिकाको संयुक्त सहकार्यमा सुरु गरिएको केन्द्रले स्थानीयवासीलाई आँखा उपचार सेवा उपलब्ध गराउनेछ।

यसअघि आँखा उपचारका लागि मङ्गलवा, लालबन्दी, हरिवन, जनकपुर र लहानसम्म पुग्नुपर्ने बाध्यता रहेकामा गाउँमै सेवा सुरु भएपछि स्थानीयवासी हर्षित भएका छन्।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक योगेन्द्र कुमार खडका, सशस्त्र प्रहरी बल नेपाल नं. १० गण कविलासीका प्रमुख प्रहरी उपरीक्षक देव बहादुर चन्द, भरतपुर आँखा अस्पतालका प्रतिनिधि तथा जनप्रतिनिधिहरुको उपस्थिति थियो। (तस्बिर : बन्दना झा)









