![]()
सर्लाही, असार —२६, जिल्लामा चालु आर्थिक वर्ष २०८१/०८२ का लागि छुट्याइएको कुल बजेटको करिब एक तिहाइ रकम असार महिनाको अन्तिम २५ दिनभित्रमै खर्च गरिएको पाइएको छ ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका अनुसार चालु आवभरि छुट्याइएको कुल बजेटमध्ये २८ दशमलव ५० प्रतिशतभन्दा बढी रकम यही असार महिनामा मात्रै खर्च भएको छ। पूँजीगततर्फ (विकास बजेट) कुल ४ अर्ब ४६ करोड १८ लाख ९५ हजार ५०७ रुपैयाँ ८४ पैसामध्ये १ अर्ब २७ करोड १७ लाख ७४ हजार १८३ रुपैयाँ मात्र असार महिनामा खर्च गरिएको हो।

यस्तै चालु बजेटतर्फको १२ अर्ब ९८ करोड ८० लाख १२ हजार ३१४ रुपैयाँ ८ पैसा मध्ये १ अर्ब ९५ करोड ८८ लाख ११ हजार ४३८ रुपैयाँ ९९ पैसा असारमा खर्च गरिएको छ।
कोष नियन्त्रक पुष्प प्रसाद गुरागाईंका अनुसार सरकारी कार्यालयहरूमा असार महिनाको २५ गतेसम्म मात्रै भुक्तानी गर्न पाउने कानुनी व्यवस्था छ । जिल्लाका अधिकांश कार्यालयले यहीँ अवधिमा खर्च गर्ने प्रवृत्तिले योजनाको प्रभावकारिता र गुणस्तरमाथि प्रश्न उठ्ने गरेको छ ।

संघीय सरकारअन्तर्गत सर्लाहीमा सबैभन्दा धेरै बजेट पाएको कमला-ढल्केवर-पथलैया सडक योजना (लालबन्दी कार्यालय) ले २ अर्ब ९४ करोडभन्दा बढी रकम खर्च गर्न सकेको छ भने अन्य कार्यालयहरूले आंशिक मात्र बजेट उपयोग गरेका छन्।
सर्लाहीको कुल पूँजीगत बजेट ५ अर्ब १६ करोड ७४ लाख ९० हजार भए पनि असार २५ गतेसम्म ८६ दशमलव ३४ प्रतिशत मात्र खर्च भएको देखिन्छ।

चालुतर्फ पनि करिब ९५ दशमलव १७ प्रतिशत बजेट मात्र खर्च भएको छ।
वर्षको अन्त्यमा मात्रै विकास बजेट तीव्र रूपमा खर्च गर्ने क्रम देशमा लामो समयदेखि बढ्दै गएकाले यसले एउटा भाष्यसमेत सृजित गरेको छ,”असारे विकास” याे प्रवृत्तिकाे यसवर्ष पनि पुनरावृत्ति भएको छ ।









