
काठमाडौँ, असार– २६, देशभर हाल मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तरतिर सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित अन्य केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।साथै उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। सातै प्रदेशका पहाडी भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। अन्य स्थानहरूमा पनि छिटफुट वर्षा र हिमपातको सम्भावना छ।

महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेको भन्दै शहरी तथा तराई क्षेत्रका बासिन्दालाई डुबानको जोखिमबाट सतर्क रहन आग्रह गरेको छ।









