![]()
सर्लाही , असार १८ — जिल्लाको लालबन्दी स्थित थाेक तरकारी बजार भोलिदेखि अनिश्चितकालका लागि बन्द गरिने भएको छ।
नगरपालिकाले ताजा तरकारी निकासीमा लगाउँदै आएको कर हटाउन माग गर्दै ताजा तरकारी फलफूल थोक बजार व्यवसायी संघले आन्दोलन घोषणा गरेको हो।

आन्दोलनका क्रममा बजारमा थाेक तरकारीको किनबेच पूर्णरूपमा बन्द गर्ने निर्णय गरिएकोले भोलिदेखि तरकारीको किनबेच नहुने संघले जनाएको छ।
लालबन्दी बजार विशेषगरी टमाटर बाेडी लगायतका तरकारी उत्पादनका लागि चर्चित मानिन्छ। यहाँ उत्पादित ताजा तरकारीहरू राजधानी काठमाडौंदेखि देशका विभिन्न ठूला सहरसम्म पठाइने गरिन्छ। वर्षेनी अबर बढीको तरकारी निकासी हुँदै आएको भए पनि अब बजार सुनसान हुने भएको छ।

व्यवसायी संघका अध्यक्ष दरेश चौधरीले बिगत ५ वर्षदेखि नगरपालिकालाई निकासी कर हटाउन आग्रह गर्दै आएको तर सुनुवाइ नभएपछि बाध्य भएर आन्दोलनको बाटो रोजिएको बताए। उनका अनुसार अन्य नगरपालिकाहरूमा यस्तो कर नलाग्ने भए पनि लालबन्दीमा मात्र जबर्जस्ती कर लादिएकाले किसान र व्यवसायी दुवै अन्यायमा परेको अवस्था छ।

संघका पूर्वअध्यक्ष तोरण बहादुर मगरले व्यवसाय कर, बहाल कर तिर्दै आएका व्यवसायीहरूलाई निकासी करले थप बोझ परेको बताउँदै, व्यवसायमै टिक्न कठिन भएको गुनासो गरे। त्यस्तै, कृषि थोक बजार व्यवस्थापन समितिका अध्यक्ष प्रमोद थपलियाले आन्दोलनप्रति समर्थन जनाउँदै, निकासी करका कारण बाह्य बजारमा तरकारी महँगो भएर बिक्री नहुनु व्यवसायीका लागि घाटाको कारण बनिरहेको बताए।
बजार बन्द भएसँगै ताजा तरकारी खेतमै कुहिने खतरा बढेको छ। यसको प्रत्यक्ष असर किसानहरूमा पर्न गइरहेको भन्दै आन्दोलनकारी व्यवसायीहरूले यसको जिम्मेवारी नगरपालिकाले लिनुपर्ने बताएका छन्।









