
हेटौंडा, असार १७ — मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा आज बिहान भएको लहरी ट्रक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको चार्जिङ पोइन्ट नजिक कोइला बोकेको लहरी ब्रेक फेल भएर सडकको दाहिने किनारमा पल्टिँदा भारत गाजिपुरका करिब ४०–४५ वर्षीय चालक महेन्द्र यादवको ज्यान गएको हो।

युपी ६१ एटी ०९६२ नम्बरको सो लहरी भारतको बनारसबाट रिद्धिसिद्धि सिमेन्ट उद्योगका लागि कोइला बोकी आउँदै थियो। बिहान करिब ५ बजे दुर्घटना भएपछि यादव गाडीभित्रै च्यापिएका थिए। दुईवटा क्रेनको सहयोगमा उद्धार गरी हेटौंडा अस्पताल पुर्याइए पनि उपचारकै क्रममा डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

दुर्घटनामा गाजिपुर निवासी सहचालक मनोज यादव घाइते भएका छन्। अहिले मृतकको शव हेटौंडा अस्पतालको शवगृहमा राखिएको छ भने दुर्घटनाग्रस्त ट्रकलाई सडकको किनारमा सारिएको प्रहरीले जनाएको छ।









