काठमाडौं, असार -१६ , हाल मनसुनको न्यूनचापीय रेखा नेपालमा सरदर स्थानभन्दा उत्तरतिर, विशेषगरी पश्चिम नेपाल नजिक सक्रिय रहँदा देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था छ।


मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।


सोमवार पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका धेरै स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू र अन्य प्रदेशका पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको जोखिम रहेको छ। यस्तै, देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावनासमेत रहेको मौसमविद्हरूले जनाएका छन्।