![]()
सप्तरी, असार १६ — सप्तरीमा आइतवार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–७ स्थित विसनपुर चोकनजिक दुई मोटरसाइकल एकआपसमा ठोक्किएपछि सडकमा लडेका एक चालकलाई ट्रकले किच्दा ज्यान गएको हो।

मृत्यु हुनेमा खडक नगरपालिका–९ का ४५ वर्षीय दिपेन्द्र विश्वकर्मा रहेका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०५–००१ प १५ नम्बरको मोटरसाइकलमा सवार विश्वकर्मा र विपरीत दिशाबाट आइरहेको स २ प १९८५ नम्बरको मोटरसाइकल ठोक्किएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिए।

ठक्करपछि अनियन्त्रित भई सडकमा लडेका विश्वकर्मालाई विपरीत दिशाबाट आइरहेको मधेश प्रदेश ०१–००१ ख ३६३ नम्बरको ट्रकले किच्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१५ का २९ वर्षीय रामकुमार श्रेष्ठ र अर्को मोटरसाइकलका चालक खडक नगरपालिका–७ का ३८ वर्षीय भूपेन्द्र साहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।









