![]()
सोम दियाली/हरिवन
असार -१५ ,हरिवन नगरपालिकामा सञ्चालित क्षयरोग मुक्त पालिका घोषणा अभियानको सामाजिक लेखा परीक्षण आज सम्पन्न भएको छ ।
नगर प्रमुख रमेश कुमार बढाथोकी(कमल)को अध्यक्षतामा भएको कार्यक्रम हरिवन नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले आयोजना गरेको थियो ।

कार्यक्रममा हरिवनलाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियान अन्तरगत क्षयरोगीहरुको खोजी कार्र्य, जाँच तथा परीक्षण, उपचार लगायतका कार्यक्रम आर्थिक वर्ष २०८१÷८२ मा सफलतापूर्वक गरिएको जानकारी दिइएको थियो ।
क्षयरोग अधिकृत रोशनी घतानीले सञ्चालन गर्नु भएको कार्यक्रममा नगर स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले विश्वमा, नेपालमा र हरिवनमा क्षयरोगको हालको अवस्थाको बारेमा जानकारी दिए ।

जसअनुसार हरिवनमा आर्थिक वर्ष २०८१÷८२ को असार १५ गते सम्ममा ११३ जना क्षयरोगका विरामी पत्ता लागेको छ । वडागत तथ्यांक अनुसार वडा नम्बर १ मा ८ जना, २ मा ११ जना, ३ मा १३ जना, ४ मा १६ जना, ५ मा ५ जना नयाँ क्षयरोगी पत्ता लागेका छन् । त्यस्तै वडा नम्बर ६ मा १३ जना, ७ मा १ जना, ८ मा १४ जना, ९ मा ७ जना, १० मा १४ जना र ११ मा ११ जना गरी कुल ११३ जना विरामी पत्ता लागेको छ ।
सामाजिक लेखा परीक्षणका क्रममा हरिवनलाई छिटोभन्दा छिटो क्षयरोग मुक्त पालिका बनाउन डटेर लाग्ने सहभागि स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मेयर रमेश कुमार बुढाथोकी(कमल)ले हरिवनमा स्वास्थ्य क्षेत्रमा धेरै राम्रो काम भएको बताए । उनले नगरपालिकालाई क्षयरोग मुक्त पालिका घोषणा गर्ने अभियान समेत छिट्टै सफल हुने विश्वास व्यक्त गरे । सबैले आफ्नो आफ्नो क्षेत्रबाट गर्नुपर्ने काम ईमान्दारीताका साथ गर्ने हो भने हरिवनलाई नेपालकै पहिलो क्षयरोग मुक्त पालिका बन्नबाट कसैले रोक्न नसक्ने नगर प्रमुख बुढाथोकीले दाबी गरे।

उनले नगरपालिकालाई क्षयरोग मुक्त पालिका बनाउन आफू जस्तो सुकै सहयोग गर्न तयार रहेको भन्नुहुँदै मेयर बुढाथोकीले घरघरमा पुगेर क्षयरोगीहरु पत्ता लगाउन स्वास्थ्यकर्मीहरुलाई आग्रह गरे ।
हरिवनमा आर्थिक वर्ष २०७८÷७९ देखि क्षयरोग मुक्त पालिका घोषणा अभियान चलेको थियो । सामाजिक लेखा परीक्षणका क्रममा पहिलो वर्ष आर्थिक वर्ष २०७७÷७८ मा ९२ जना, ०७८÷७९ मा १२० जना, ०७९÷८० मा ११९ जना, ०८०÷८१ मा १३५ र चौथो वर्ष चालू आ.व.२०८१÷८२ मा ११३ जनामा क्षयरोग पत्ता लागेको छ ।









