
काठमाडौँ, असार- १४,अबदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन गरिने भएको छ। प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शनिवार सिंहदरबारमा बसेको बैठकले विद्यालय शिक्षा सम्बन्धी विधेयकमा एसईई यथावत् राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति जनाएको हो।

सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले बैठकमा एसईई प्रदेशमार्फत सञ्चालन गरिनुपर्ने प्रस्ताव राखेका थिए। मन्त्री पन्तले संविधानको भावना अनुसार प्रदेश सरकारलाई एसईई सञ्चालनको जिम्मेवारी दिनु उचित हुने उल्लेख गर्दै, विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धिका लागि पनि यस्तो व्यवस्था आवश्यक रहेको बताए।

उनका अनुसार अहिले पनि विभिन्न तहमा विभिन्न परीक्षा सञ्चालन भइरहेकाले माध्यमिक तहको परीक्षा पनि प्रदेश तहबाट सञ्चालन गर्दा संघीय संरचनासँग मेल खानेछ।
समितिको बैठकले एसईई परीक्षा राष्ट्रिय परीक्षा बोर्डको समन्वयमा प्रदेश सरकारमार्फत सञ्चालन गर्ने व्यवस्था विधेयकमा समावेश गर्ने सहमति दिएको छ। यसैगरी, जिल्लास्तरमा शिक्षा समन्वय एकाइ स्थापना गर्ने प्रस्ताव पनि समितिले स्वीकृत गरेको छ। समितिका सभापति अम्मरबहादुर थापाले संविधानको मर्मविपरीत नजाने गरी यस्तो एकाइ कायम गरिने जानकारी दिए।

समितिले विद्यालय शिक्षा विधेयक पारित गरेपछि अब यो संसद्मा प्रस्तुत गरिनेछ। संसद्बाट पारित भएपछि सहमति भएका व्यवस्था कार्यान्वयनमा जानेछन्। विधेयकलाई अन्तिम रूप दिनेगरी समितिको अर्को बैठक आइतवारका लागि बोलाइएको छ।









