काठमाडौं, असार- १४, नेपाली कांग्रेस सर्लाहीले उखु किसानका मागहरु राख्दै कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ।
जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहको नेतृत्वमा मन्त्रालय पुगेका सचिव निरज कार्की, सह-सचिव इन्द्र योञ्जन, नेताहरू सुरेन्द्र न्याैपाने र सहदेव केसीले मन्त्री अधिकारीलाई ज्ञापनपत्र  बुझाएका हुन ।


ज्ञापनपत्रमा विगत वर्षदेखि उखु किसानलाई दिँदै आइएको अनुदानलाई बिना सर्त निरन्तरता दिन, अघिल्ला वर्षको बक्यौता अनुदान तुरुन्त भुक्तानी गर्न र चालु वर्षको उखुको समर्थन मूल्य समयमै निर्धारण गर्न माग गरिएको छ।
ज्ञापनपत्रमा  उखु मधेस तथा तराई क्षेत्रमा दशकौँदेखि नगदे बालीको रूपमा उत्पादन हुँदै आएको उल्लेख गर्दै किसानको आर्थिक सुधारमा उखु खेतीको ठूलो भूमिका रहेको उल्लेख छ। सर्लाही लगायतका जिल्लामा धेरै किसान अझै उखु खेतीमै निर्भर रहेको उल्लेख गर्दै ,ज्ञापनपत्रमा भनिएको छ, “सरकारले निर्धारण गर्ने उखुको मूल्य किसानको लागत र श्रमअनुसार न्यून रहेको छ।


यस्तो अवस्थामा विगतदेखि दिँदै आएको अनुदान नै किसानका लागि राहतको श्रोत बनेको थियो। तर आर्थिक वर्ष २०८२/८३ को बजेटमा अनुदान कटौती गरिएको छ, जसले किसानको जीविकोपार्जनमा गम्भीर असर पर्ने निश्चित छ।”
ज्ञापनपत्र बुझाउन पुगेका नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहले  उखु किसानको पक्षमा स्पष्ट र सकारात्मक नीति ल्याउन सरकारसँग आग्रह गरेका सचिव निरज कार्कीले चियाेचर्चाे खबरलाई जानकारी दिए ।

सचिव कार्कीका अनुसार ज्ञापन पत्र बुझ्दै मन्त्री अधिकारीले  गतवर्ष काे अनुदान बापत  उखु किसानलाई  भुक्तानी दिन बाकी रकम मध्ये  ८० करोड रुपियाँ एकसाता भित्रै  निकासा पठाउने र  बाँकी रकमको लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।