
सर्लाही , असार- १५, प्रत्येक वर्ष असार १५ गते मनाइने राष्ट्रिय धान दिवस आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ। किसानहरू खेतमा हिलो छ्यापाछ्याप गर्दै धान रोपिरहेका छन् भने शहर–बजारमा दही चिउरा खाएर यो दिनलाई विशेष पर्वको रूपमा मनाउने चलन बढ्दो छ।

असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा लिइन्छ। विशेषगरी खेतीपातीमा संलग्न किसानहरूका लागि यो दिनको छुट्टै महत्व छ। कामको चटारोले थकित किसान दही चिउरा खाएर शक्ति सञ्चय गर्छन् भन्ने विश्वास रहिआएको छ। दही चिउराले शरीरमा शीतलता ल्याउने र पाचन शक्ति बढाउने आयुर्वेदीय मान्यता पनि रहेको छ।

हाम्रो संस्कृतिमा दही शुभ र पवित्र मानिन्छ। घरबाट बिदा हुने बेलामा दही अक्षता निधारमा टाँसेर टीका लगाउने, यात्राका बेला दही खुवाएर बिदाइ गर्ने चलनले दहीको सांस्कृतिक महत्वलाई दर्शाउँछ।
“भोजनान्ते पिबेत् तक्रं वैद्यस्य किं प्रयोजनम्” (भोजनपछि मोही पिए वैद्यको आवश्यकता पर्दैन) भन्ने आयुर्वेदिक भनाइले पनि दहीको औषधीय पक्षलाई पुष्टि गर्छ। पखाला जस्ता सामान्य स्वास्थ्य समस्यामा दही चिउरा औषधिजस्तै लाभदायक हुने जनविश्वास नेपाली समाजमा बलियो छ।
नेपाल कृषि प्रधान देश भएकाले असार महिनामा किसानहरू धान रोपाइँमा व्यस्त हुन्छन्। असारे भाकामा गाउँदै, हिलोमा रमाउँदै रोपाइँ गरिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयमा गाइने गीतहरूले खेतमै रमाइलो गरिन्छ।

यस वर्ष असारको मध्यसम्म पनि देशभर पर्याप्त वर्षा नभएकाले सबै क्षेत्रहरूमा धान रोपाइँ सुचारु हुन सकेको छैन। कतिपय स्थानमा रासायनिक मलको अभाव भएको किसानको गुनासो पनि छ। यद्यपि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभर पर्याप्त मलको मौज्दात रहेको दाबी गरेको छ।
धान दिवसको औपचारिक सुरुवात वि.सं. २०६२ सालदेखि भएको हो। वि.सं. २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णयमार्फत असार १५ लाई राष्ट्रिय धान दिवसको रूपमा मनाउने घोषणा गरिएको थियो। त्यसयता यो दिनले नेपाली कृषिमा एक विशेष सांस्कृतिक र व्यावसायिक महत्व बोकेको छ।









