सर्लाही,असार –७, जिल्लाकाे बरहथवामा सडक विस्तारको विषयमा झडपहुदा प्रहरीसहित १० जना घाइते भएका छन् । बरहथवा नगरपालिका–४, खैरा टोलमा आज बिहान बाटो विस्तारको विषयलाई लिएर भएको झडपमा दुई जना प्रहरीसहित १० जना घाइते भएका हुन । स्थिति नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार झडपका क्रममा इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत प्रहरी निरीक्षक दीवाकर गणेश र वरिष्ठ हवल्दार प्रमेश्वर राय यादव घाइते भएका छन्।
स्थानीय घाइतेहरूमा टीकाबहादुर कार्की वर्ष (५०), कुलबहादुर कार्की वर्ष (५२), रमेश महतो कोइरी वर्ष (४२), उनकी श्रीमती इन्दु देवी वर्ष (३८), उनका छोराहरू अनिल कुशवाहा वर्ष (२८) र प्रदीपकुमार कुशवाहा वर्ष (२६), उमेश महतो वर्ष (३५) र बरहथवा–१४ निवासी सञ्जय कुशवाहा वर्ष (३५) रहेका छन्।


इन्स्पेक्टर गणेश र सञ्जय कुशवाहालाई प्राथमिक उपचारपछि डिस्चार्ज गरिएको छ भने गम्भीर घाइते कुलबहादुर र टीकाबहादुर कार्कीलाई थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। अन्य घाइतेहरूको बरहथवा नगर अस्पताल र बलरा नगरपालिकास्थित अचलगढ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनाबारे सोधपुछका लागि इलाका प्रहरी कार्यालय बरहथवाले बरहथवा–४ का पूर्व वडाध्यक्ष लखेन्द्र महतो (४०), शिशिर कार्की (२४), रीता कटुवाल (४२), बलरा नगरपालिका–८ का रञ्जित महतो (३१), सन्तोषकुमार कुशवाहा (२२), अभिषेक महतो (२५) र अरविन्दकुमार साह (२५) लाई नियन्त्रणमा लिएको छ।
केही दिनदेखि खैरा टोलमा सडक ढलानको विषयमा विवाद चल्दै आएको थियो। गत बिहीबार एक महिलाले आफ्नो जग्गा मिचिएको भन्दै ढलान भइरहेका सडकमा लम्पसार परेर विरोध जनाएकी थिइन्।


उनलाई केही पुरुष तथा महिलाले बलपूर्वक पन्छाएको भिडियो पनि सार्वजनिक भएको थियो। त्यसयता विवाद चर्किँदै गएर आज बिहान झडपमा परिणत भएको हो।
झडपका क्रममा दुवै पक्षले एकअर्कामाथि बाँसका भाटा र ढुङ्गा प्रहार गरेका दृश्यहरू सामाजिक सञ्जालमा आइरहेका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार प्रहरीको सक्रियताले थप अप्रिय घटना हुनबाट रोकिएको छ।


घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो उपस्थिति रहेको छ। बरहथवा–४ का वडाध्यक्ष कृष्णकुमार साहले प्रहरीको आग्रहमा आजको ढलान कार्य स्थगित गरिएको भए पनि बाहिरबाट आएका व्यक्तिहरूले झडप गराएको आरोप लगाउँदै घटनाको छानबिन गर्न माग गरेका छन् ।
उक्त स्थानमा १११ मिटर सडक ढलान गर्न बरहथवा वडा नं.- ४ कार्यालयले सात लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो।