जनकपुरधाम,जेठ-३०,जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश सांसद सरोजसिंह कुशवाहा निलम्बनमा परेका छन्। प्रदेशसभाको शुक्रवार बसेको बैठकमा सभामुख रामचन्द्र मण्डलले कुशवाहाको सांसद पद निलम्बनमा परेको जानकारी दिएका हुन्।


सभामुख मण्डलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट प्राप्त पत्र पढेर सुनाउँदै कुशवाहालाई भ्रष्टाचारसम्बन्धी आरोपमा पक्राउ गरिएको जनाए। उनी बिहीबार काठमाडौंबाट पक्राउ परेका हुन्।


कुशवाहा महोत्तरी क्षेत्र नं. ४ (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। अख्तियारको अनुसन्धानमा उनले विभिन्न उपभोक्ता समिति गठन गरी त्यसको रकम निजीसचिव विनोदलाल कायस्थको खातामा जम्मा गराई, त्यसबाट घुसबापतको रकम आफ्नो खातामा जम्मा गरेको खुलाइएको छ।
सचिव कायस्थ केही दिनअघि महोत्तरीबाट पक्राउ परिसकेका छन्।


यसअघि धनुषाबाट निर्वाचित सांसद दीपेन्द्र ठाकुर र महोत्तरीबाट निर्वाचित सांसद अभिराम शर्मा पनि निलम्बनमा परिसकेका छन्। अब निलम्बनमा परेका सांसदको संख्या तीन पुगेको छ ।