वीरगञ्ज, जेठ ३१ — उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा कार्यरत न्यायाधीशमाथि इजलास कक्षमै दुर्व्यवहार भएपछि पर्सा प्रहरीले अदालत परिसरको सुरक्षा व्यवस्था कडाइ गरेको छ।


न्यायाधीश डा. खुसीप्रसाद थारु र अर्जुन महर्जनमाथि बिहीवार दिउँसो करिब ४ बजे नेकपा (बहुमत)का तीन जना कार्यकर्ताले इजलास कक्षमै प्रवेश गरी दुर्व्यवहार गरेका थिए। दुर्व्यवहारमा संलग्न सिरहा गोलबजारका गर्भु महतो, सर्लाही बरहथवाका पदमबहादुर मगर र प्यूठानका किशोर कुमारलाई प्रहरीले तत्कालै पक्राउ गरेको थियो ।


जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख एसपी गौतम मिश्रका अनुसार ती व्यक्तिहरू ‘खाजा खाने’ बहानामा अदालतभित्र प्रवेश गरेका थिए र मौका छोपेर न्यायाधीशमाथि दुर्व्यवहार गरेका थिए। पक्राउ परेकामाथि अदालतको मानहानि र अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको उनले जानकारी दिए। शुक्रवार उनीहरूलाई जिल्ला अदालत पर्सामा म्याद थपका लागि प्रस्तुत गरिएको छ।


घटनापछि अदालत परिसरको सुरक्षालाई थप सुदृढ बनाइएको छ। पूर्ववत रूपमा हरेक न्यायाधीशलाई एक–एक जना ‘पिएसओ’ खटाइएको छ, भने परिसरमा करिब एक दर्जन सुरक्षाकर्मी तैनाथ गरिएको छ। अहिले सबै १४ जना न्यायाधीशका पिएसओहरू परिवर्तन गरी नयाँ सुरक्षाकर्मी पठाइएको छ। साथै, अदालत परिसरमा खटिने प्रहरीको संख्यामा समेत वृद्धि गरिएको एसपी मिश्रले बताए।