![]()
सर्लाही, जेठ- ३०,नेपाल र भारतबीच खुला सीमाबाट हुने आपराधिक गतिविधिहरु नियन्त्रण गर्न र आपसी सहकार्य अभिवृद्धि गर्न सर्लाही, महोत्तरी, रौतहट तथा भारतको सीतामढी जिल्लाका प्रमुख पदाधिकारीहरुबीच संयुक्त सीमा समन्वय बैठक सम्पन्न भएको छ।नेपालतर्फबाट बैठकको नेतृत्व सर्लाहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्री तुलसी बहादुर श्रेष्ठले गरेका थिए।बैठक जिल्लाको हरिवनस्थित होटल बगैंचामा शुक्रवार सम्पन्न भएको हो।

बैठकमा महोत्तरी र रौतहटका प्रजिअ, सहायक प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुख, साथै भन्सार कार्यालयका प्रमुखहरुको उपस्थिति रहेको थियो।
भारततर्फबाट सीतामढी जिल्लाका मुख्य जिल्लाधिकारी (डीएम) श्री रिची पाण्डेको नेतृत्वमा पुलीस अधीक्षक, भन्सार प्रमुख तथा सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरुको सहभागिता रहेको थियो।

बैठकमा खुला सीमाका कारण हुन सक्ने चोरी, तस्करी, लागू औषध र मदिराको ओसारपसार नियन्त्रण, अवैध मुद्रा कारोबार नियन्त्रण, र सूचनाको आदानप्रदानलगायतका विषयमा छलफल भएको जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सुरेश प्रसाद दासले जानकारी दिए ।

बैठकले सीमा क्षेत्रमा शान्ति, सुरक्षा तथा आपसी विश्वास कायम गर्न दुवै देशका सुरक्षा तथा प्रशासनिक निकायबीच नियमित सम्पर्क र सहकार्य आवश्यक रहेको निस्कर्ष निकालिएको छ ।









