
विवेक थापा /लालबन्दी
जेष्ठ -२०, ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, स्वदर्शन भवन लालबन्दी सर्लाहीमा आज एक दिने निशुल्क मोटिभेसन क्लास तथा योग तपस्या भट्टि कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।

“स्नेह, सद्भावपूर्ण मधुर मिलन तथा व्यर्थ संकल्पबाट मुक्ति” विषयमा आधारित उक्त कार्यक्रम प्रजापिता ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय, मधुबन (माउण्ट आबु, भारत) बाट आएका अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर राजयोगी ब्रह्माकुमार हरिगोबिन्द भाइसाहबले संचालन गरेका हुन।

कार्यक्रममा ब्रह्माकुमारिज जनकपुर क्षेत्र प्रमुख राजयोगिनी ब्रह्माकुमारी श्रीजना दिदी तथा लालबन्दी केन्द्र इन्चार्ज ब्रह्माकुमारी प्रभा दिदीको विशेष उपस्थिति रहेको थियो।
हरिपुर, ईश्वरपुर र लालबन्दी नगरपालिकाका झण्डै २०० जना सहभागीहरूको उपस्थितिमा पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो।
बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको उक्त कार्यक्रमलाई संस्थाले भोजन र नास्ताको व्यवस्था समेत गरेको थियो।

कार्यक्रमका क्रममा आध्यात्मिक ज्ञानको आदान–प्रदान, योग अभ्यास र प्रेरणादायी संवादहरू प्रस्तुत गरिएका थिए। सहभागीहरूले कार्यक्रम अत्यन्त प्रभावकारी भएको बताएका छन्।









