
सर्लाही ,बैशाख – २० , जिल्लाकाे नेपाल भारत सीमावर्ती क्षेत्र पर्सा गाउँपालिकाबाट शनिवार साँझ पेस्तोल र गोलीसहित एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्सा गाउँपालिकाको वडा नम्बर ४ का २३ वर्षीय दीपक साह रहेका छन् । प्रहरीले उनलाई पर्सा गाउँपालिका–२, मा रहेको रवी होटलबाट पेस्तोलसहित पक्राउ गरेको हाे ।

साहको साथबाट एक थान कटुवा पेस्तोल र त्यसमा लाग्ने एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।

हतियारसहित युवक होटलमा बसिरहेको सूचना पाएर प्रहरी चौकी नारायणपुरबाट खटिएको प्रहरी टोलीले दीपकलाई नियन्त्रणमा लिएको थियो ।

बरामद हतियारसहित उनलाई जिल्ला प्रहरी कार्यालय मलंगवामा ल्याएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।









