
सर्लाही ,बैशाख – २१ , नेपाली कांग्रेस पार्टीका पूर्व उपसभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधीले अहिले व्यवस्था प्रणालीलाई कतैबाट खतरा आउँछ भने त्यो खतराको विरूद्ध लड्न सहिद सुखदेव महत्त्वबाट प्रेरणा लिनुपर्ने बताएका छन् ।
जिल्लाको हरिवन नगरपालिका–२, अत्रौलीमा आज शहीद सुखदेव महतोको शालिक अनावरण गर्दै नेता निधीले अहिलेको प्रणालीलाई बदनाम हुन नदिन आफ्नो क्षमताको प्रयोग गरेर इमानदारीपूर्वक बिकाशका कामहरू गर्न आग्रह गरे ।

नेता निधीले आज (आइतवार ) हरिवन-२, अत्रौली २०५९ साल बैशाख २१ गते तत्कालिन विद्रोही पक्ष (माओवादी) ले घाँटी रेटेर हत्या गरेका पार्टीका तत्कालीन अत्राैली गाविस सभापति एवम् पूर्व गाविस उपाध्यक्ष सुखदेव महतोको अर्धकतको शालिक अनावरण गरेका हुन् ।

कार्यक्रममा नेता निधीले संघीयतासहितको लोकतान्त्रिक व्यवस्थाको माया अरु राजनीतिक दलको तुलनामा कांग्रेसलाई धेरै रहेको दावी गरे।
निधीले यो प्रणालीलाई जोगाउन सके शहीदहरू प्रति उच्च सम्मान हुने बताए । उनले अहिले नेकपा एमालेसँगको संयुक्त सरकार रहेकाले कांग्रेसले भने जस्तो मात्रै नहुने भन्दै निधीले पार्टीबाट निर्वाचित जनप्रतिनिधि र कार्यकर्तालाई अन्य कुराको पछि नलागी आगामी २०८४ को निर्वाचनलाई लक्षित गरी जनताको मन जित्ने गरी काम गर्न आग्रह गरे ।

निधीले अबको १३ महिनापछि नेकपा एमालेसँगको सात बुँदे सहमती अनुसार पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने र त्यसपछि कांग्रेसले देखेका सपना पूरा हुँदै जाने दावी गरे ।
हिजो भर्खर बसेको कांग्रेस संसदीय दलको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमबारे विभिन्न टिका, टिप्पणी र विरोध भए पनि यसलाई पारित गर्न सबै सांसद एकैठाउँमा उभिने सभापतिकाे निर्देश रहेको र आफुहरू त्यही लाइनमा रहेको बताए ।

कार्यक्रममा नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति एवम् पूर्व मन्त्री वीरेन्द्रप्रसाद सिंहले सहिद सुखदेव महतो स्मृति प्रतिष्ठानकाे भवन निर्माण भएर यहाँका नागरिकले सेवा प्राप्त गरेपछि मात्र सहिद महताे प्रति सच्चा श्रद्धाञ्जली हुने बताए ।उनलेे भवन निर्माणकाे लागि प्रदेश सरकार संग पहल गर्ने सम्भव नभए व्यक्तिगत संसदीय काेषबाट पनि प्रतिष्ठाकाे भवन निर्माण गर्न सहयोग गर्ने प्रतिबद्ध व्यक्त गरे ।
उनलेे लोकतान्त्रिक पद्धति र शान्तिमा विश्वास गर्ने पार्टी भएको हुदा २००३ सालमा पनि नेपाली कांग्रेस देशको सबैभन्दा ठुलो पार्टी रहेको र अहिले पनि ठुलो पार्टी भएको बताउँदै,मारकाटकाे राजनीतिकाे भविष्य नहुने तर्क गरे ।
उनले तीन सय पैसठ्ठी दिन कांग्रेस हुन भन्ने र मतदानको दिन अर्कै पार्टीलाई भाेट हाल्नेका कारण पार्टीमा समस्या सृजना भएको बताए ।

शहीद सुखदेव महतो स्मृति प्रतिष्ठानका अध्यक्ष पिताम्बर महतोको अध्यक्षतामा आयोजित कार्यक्रममा नेपाली कांग्रेस मधेश सरकारका पूर्व मन्त्री रामसरोज यादव, पार्टी जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, धनुुषा जिल्ला सभापति योगेन्द्र पजियार, पूर्व सर्लाही जिल्ला सभापति एवम् पूर्व मन्त्री नागेन्द्र कुमार, प्रदेश सभा सदस्य जंगीलाल राय, पूर्व मन्त्री शम्भुलाल श्रेष्ठ, संविधान सभा सदस्य हरेशप्रसाद महतो, जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख कौशलकिशोर सिंह, पार्टीको मधेश प्रदेश सभाका पूर्व सचेतक उपेन्द्रप्रसाद कुशवाहा, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतो र कविलासी नगरपालिकाकी उपप्रमुख पुनम कर्णले मन्तव्य राखेका थिए।
कार्यक्रममा पार्टी मधेस प्रदेश सदस्य साेनीकुमारी बम्जम,उपसभापति डाक्टर सराेज कुमार, पार्टीका विभिन्न तह र तप्काका नेता हरिपुर्वा नगरपालिका का प्रमुख विनोद कुमार साह , ईश्वरपुर नगरप्रमुख मनाेज कुमार आचार्य,पर्सा गाउँपालिका प्रमुख विस्पद यादव,अन्य स्थानीय जनप्रतिनिधिकाे सहभागिता रहेको थियो ।
पार्टीका जिल्ला सचिव निरज कार्कीले संचालन गरेको कार्यक्रममा हरिवन नगरपालिका २ का वडाध्यक्ष अर्जुनकुमार योन्जनले स्वाग मन्तव्य राखेका थिए । कार्यक्रममा पार्टीका लागि साथ, सहयोग र योगदान गर्ने व्यक्तिलाई सम्मान गरिएको थियो ।









