सर्लाही , बैशाख -१९, ओडिसामा मृत्यु भएकी प्रिसा साहकाे शव बुुझ्न परिवारका सदस्य शुक्रवार बिहान भारत गएका छन् ।
जिल्लाकाे कविलासी नगरपालिका–८, कविलासी चोक निवासी श्यामप्रसाद साहकी छोरी २० वर्षीया प्रिसा हिजो बेलुका कलिङ्गा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिईन् ।


प्रिसाका ठुलोबुवा कमलदेव प्रसाद साहका अनुसार कलेज प्रशासनले हिजो राति ९ बजे प्रिसाको मृत्यु भएको जानकारी गराएपछि उनको बुवा श्यामप्रसाद साह, आमा पिङ्की साह र भाई गौरवकुमार साह आज बिहान  ओडिसा गएका हुन ।
कमलदेवका अनुसार प्रिसा ओडिसाको उक्त कलेजमा कम्प्युटर साइन्स विषयमा सेकेण्ड सेमेस्टरमा अध्ययनरत् थिईन् ।भारतको ओडिसामा मृत्यु भएको प्रिसा शाह दुुई सातापछि घर फर्किने तयारीमा थिईन् ।


प्रिसाले परीक्षा सकेर दुुई सातापछि अर्थात् मे १८ तारिखमा आफू घर आउने भनी परिवारसँग भनेकी थिईन् । उनी गएको फागुनमा सोही कलेजमा पढ्ने विद्यार्थी प्रकृति लम्सालको मृत्युकाे घट्नापछि  घर आएकी थिईन् ।
कलेजले नै फोन गरेर बोलाएपछि प्रिसा दुुई हप्ता घरमा बसेर अन्य साथीसँगै पुनः ओडिसा फर्किएकी थिईन् । कलेजले नै टिकटको व्यवस्था गरेर प्रिसासहितका व्यक्तिलाई फिर्ता बोलाएको उनका ठुलोबुवा कमलदेव प्रसाद साहले बताए ।
प्रिसाको परिवारमा बुवा, आमा र भाई मात्रै रहेका छन् । प्रिसाको मृत्युपछि उनीहरु तीनै जना आज बिहान घरमा ताला लगाएर शव बुुझ्न ओडिसातर्फ लागेका हुन् ।
उनीहरु यहाँदेखि पटनासम्म स्थलमार्ग र त्यहाँदेखि ओडिसासम्म हवाई मार्गमार्फत जाने बुझिएको छ । कविलासी नगरपालिका ८ का वडाध्यक्ष वीरेन्द्रप्रसाद साहले आफूहरुले सामजिकसञ्जाल मार्फत घटनाको जानकारी पाएको बताए ।


यता ओडिसामा बारम्बार घटना दोहोरिएको भन्दै नेपाल विद्यार्थी संघको जनज्योति बहुमुखी क्याम्पस इकाइ समिति लालबन्दीले गम्भीर बन्न सम्वद्ध निकायलाई आग्रह गरेको छ ।
नेविसंघ क्याम्पस इकाइ समितिका सभापति निर्मल अधिकारी (सफल) ले आज प्रेस विज्ञप्ती जारी गरी सरकार, विशेष गरी परराष्ट्र मन्त्रालय, शिक्षा मन्त्रालय र नयाँ दिल्लीस्थित नेपाली दुतावासलाई तत्काल गम्भीर हुन र प्रिसा साहको मृत्युुबारे छानविन गर्न माग गरेका  हुन  ।


अब कुनै पनि विद्यार्थीले विदेशमा अध्ययन गर्न जाँदा असुरक्षित हुने वातावरणको अन्त्य गर्न नेविसंघ क्याम्पस इकाइ समितिले ध्यानाकर्षण गराएको हाे