सर्लाही,फागुन -२१,महमानवसेवा आश्रमले हरिवनमा आयोजना गर्न लागिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञको सम्पूर्ण तयारी पूरा भएको महायज्ञ मुल आयाेजक समितिले जनाएको छ।
सहयोगापेक्षी सडक आश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यकासाथ आश्रमले सर्लाही शाखा मानवीय स्मारक भवन निर्माण सम्पन्न गर्न भाेली फागुन २२ देखि फागुन २९ गतेसम्म ज्ञान विज्ञान महायज्ञको आयोजना गर्न लागेको हो ।

महायज्ञको लागि हरिवन नगरपालिकाको वडा नम्बर ११ स्थित सुर्ति विकास खेल मैदान श्रृङ्गारिएकाे छ । भोलि विहान ११ बजे सुखेपोखरीस्थित चतुर्भुजेश्वर शिव मन्दिरबाट कलश यात्रा गर्दै मध्यान्ह साँढे १२ बजे महायज्ञको समुद्घाटन गरिने महायज्ञ मुल आयाेजक समितिले जनाएको छ।


आयोजकका अनुसार भोलि सम्भवतः मधेश प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले महायज्ञको समुदघाटन गर्नुहुनेछ भने महायज्ञमा ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको टिम पनि सहभागि हुनेछ ।
भोलि समुद्घटनको दिन कलश यात्रामा समेत हज्जारौं नरनारीहरुको सहभागिता हुने आयोजकले जनाएको छ।

भागवत भास्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञमा प्रत्येक दिन विहान ५ बजेदेखि ७ बजे सम्म योग शिविर, साँढे ७ बजेदेखि १० बजेसम्म विद्यार्थीमाझ उत्प्रेरणा कार्यक्रम समेत राखिने छ ।
आयोजकका अनुसार मानव सेवा आश्रमको हरिवन ९ स्थित निर्माणाधीन भवन निर्माण सम्पन्न गर्नका लागि ११ करोड आवश्यक पर्ने र महायज्ञबाट सो बराबरको दान संकलन हुने अपेक्षा रहेको छ ।