सर्लाही ,फागुन -२२, मानवसेवा आश्रमले हरिवनमा आयोजना गरेको श्रीमद् भागवत ज्ञानविज्ञान महायज्ञको बिहीवार एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।
महायज्ञको प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको हाे ।


आश्रमले सर्लाही शाखाको भवन (मानवीय स्मारक) निर्माण सम्पन्न गरी सहयोगापेक्षी सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यले महायज्ञको आयोजना गरिएको यज्ञ मूल आयोजक समितिका माधव थापाले जानकारी दिए ।


कार्यक्रममा हरिवन नगरपालिकाले मानवसेवा आश्रमको अधुरो भवन निर्माणका लागि ५६ लाख ११ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
आजदेखि सुरू भएको  महायज्ञ  फागुन २९ गतेसम्म हरिवन नगरपालिका-११ स्थित सुर्ति विकास खेल मैदानमा सञ्चालन हुनेछ । महायज्ञ समुद्घाटन पूर्व बिहान ११ बजे सुखेपोखरीस्थित चतुर्भुजेश्वर शिव मन्दिरबाट  शोभा कलश यात्रा निकालिएको थियो ।

महायज्ञको समुद्घाटनको अवसरमा हरिवन नगरपालिका बिहीवार सहयोगापेक्षी सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको छ।
नगरपालिकाभित्र कसैले पनि असहाय, बेसहारा भइ बाँच्ने अवस्थाको अन्त्य गर्न सडकआश्रित मानवमुक्त नगरपालिका घोषणा गरिएको नगरप्रमुख रमेश बुढाथोकीले जानकारी दिए।
महायज्ञमा चर्चित लाेकदाेहाेरी कार्यक्रम ईन्द्रेणीका सञ्चालक कृष्ण कँडेलको टिमकाे पनि प्रस्तुति रहेको थियो । त्यसै भवन निर्माणका लागि ईन्द्रेणी टिमले ५१ हजार बराबरको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। भागवत भास्कर कमलनयन गौतमले कथा वाचन गर्नुहुने महायज्ञमा प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजे सम्म योग शिविर, साँढे ७ बजेदेखि १० बजेसम्म विद्यार्थीमाझ उत्प्रेरणा कार्यक्रम समेत सञ्चालन हुनेछन्।
मानवसेवा आश्रमको हरिवन-९ स्थित निर्माणाधीन भवन निर्माण सम्पन्न गर्नका लागि  महायज्ञबाट  ११ करोड  दान संकलन लक्ष्य राखिएको मूल आयोजक समितिले जनाएको छ ।
मानवसेवा आश्रमले मधेश प्रदेशमा मात्रै हालसम्म ७१५ जना सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ भने ४०१ जनाको सुखद् पारिवारिक पुनर्मिलन गराइसकेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।


उनका अनुसार मधेश प्रदेशमा हाल १६१ सडक आश्रित मानवहरुलाई आश्रय दिँदै आएको छ । ती मध्य सर्लाही जिल्लाको हरिवनमा रहेको आश्रमले २९९ सडकआश्रित मानवहरुको उद्धार गरिसकेको छ। २२९ जनाको सुखद पारिवारिक पुनर्मिलन गराइसकेको छ । हाल ६० जना हरिवन आश्रममा आश्रित छन् । मानवसेवा आश्रमको भवन निर्माण सम्पन्नपछि १५० जना सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई सेवा प्रदान गर्न सक्ने क्षमता राख्ने अध्यक्ष अधिकारीले जानकारी दिए ।