
सर्लाही,फागुन -१४ , महाशिवरात्रिको अवसरमा देशभरका शिव शक्तिपीठहरूमा जस्तै सर्लाहीका शक्तिपीठहरूमा पनि आज दिनभर दर्शनार्थीको भीड लागेको छ ।

जिल्लाकाे ऐतिहासिक शक्तिपीठ लक्ष्मीनाथ महादेव मन्दिर चिताइन,बरहथवा स्थित मुक्तेश्वर महादेव मन्दिर,लालबन्दी स्थित अक्लेश्वर महादेव मन्दिर,ईश्वरपुरकाे सागरनाथ/फुलजाेर महादेव मन्दिर ,हरिवन स्थित कैलाशपुरी मन्दिर ,मलंगवा स्थित महादेव मन्दिर परिसरमा आज बिहान ४ बजेदेखि नै जलार्चन गर्ने भक्तजनको भिडभाड लागेकाे थियो ।

आज साँझ शिवालयहरूमा शिवधुनी लगाइएको छ । साधकहरु रातभर जाग्राम बसि शिवधुनी ताप्ने गर्दछन ।

विशेषगरी हरिपुर स्थित ऐतिहासिक शक्तिपीठ लक्ष्मीनाथ महादेव मन्दिरमा भक्तजनहरूले शरिरमा आएको मुसा (चर्मरोग) निको हुने र मनोकामना पूरा हुने विश्वासका साथ भान्टा (बेगन) को भार र धानको मटका चढाउने प्रचलन छ।


विगतका वर्षमा जस्तै यसवर्ष पनि हजारौं श्रद्धालुले भान्टा (बेगन) को भार र धानको मटका चढाएका लक्ष्मीनाथ चिताइन महादेव मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।


लक्ष्मीनाथ चिताइन महादेव मन्दिर व्यवस्थापन समितिका अनुसार विगतका वर्षमा जस्तै यश वर्ष पनि सर्लाही सहित , बारा,पर्सा,राैतहट,सिन्धुली,मकवानपुर ,महाेत्तरी र छिमेकी मुलुक भारतबाट समेत भक्तजनहरू महादेवकाे दर्शन गर्न र मेला भर्न आएका छन् ।मेला आजैदेखि फागुन -२० गतेसम्म चल्ने छ ।










