
सर्लाही,फागुन- १४ , ८९औं महाशिवरात्री पर्वको अवसर पारेर ब्रह्मकुमारी राजयोग सेवा केन्द्र लालबन्दीले विविध कार्यक्रम आयोजना गरेको छ ।
राजयोग सेवा केन्द्र लालबन्दीकी राजयोगिनी ब्रह्माकुमारी प्रभा दिदीको अध्यक्षता तथा प्रदेशसभा सदस्य एवम् पूर्वमन्त्री बेची लुंगेलीको प्रमुख आतिथ्यतामा ओमशान्ति भवन लालबन्दीको सभाहलमा विभिन्न कार्यक्रम गरी महाशिवरात्री पर्व मनाइएको हो।

सो आध्यात्मिक प्रवचन एवम् शिव झण्डात्तोलन, दिप प्रज्वलन, प्रवचन तथा शुभकामना आदानप्रदानसहित केक समेत काटिएको थियो ।
‘शिवरात्रीको अद्वितीय महत्व एवम् स्नेह मिलन’ विषयक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वक्ताहरुले ब्रह्मकुमारी राजयोग सेवा केन्द्र लालबन्दीले मानिसहरुलाई आध्यामिक मार्गमा लाग्न प्रेरित गर्नुका साथै लालबन्दीको विकासमा समेत योगदान गरेको भन्दै मुक्तकण्ठले प्रसंशा गरेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथी लुंगेलीसहित,उद्योग वाणिज्य संघ लालबन्दीका संस्थापक अध्यक्ष एवम् समाजसेवी देवीबन्धु थापा,नेकपा एमालेका नेता गाेविन्द महत ,नेकपा एकीकृत समाजवादी सर्लाहीका उपसचिव उद्धव पाठक, ग्रामीण नारी उत्थान संघ हरिपुरका संस्थापक विष्णु चालिसे, गुरुकुल लालबन्दीका अध्यक्ष माधव खरेल, नेपाल प्रेस युनियन सर्लाहीका अध्यक्ष कृष्ण प्रसाद थपलिया,डाक्टर आलाेक कुशवाह, ऋषि निराैलालगायतले सम्बोधन गर्नु भएको थियो ।

सम्बोधनका क्रममा प्रमुख अतिथी लुंगेलीले पछिल्लो समय समाजमा हत्या, हिंसालगायतका जघन्य अपराधका घट्नाहरु पैसा कै कारण बढेको बताउनुभयो । ‘अहिले समाजमा जघन्य खालका घटनाहरु बढ्दै गएको छ । दाजुभाई, दिदीबहिनीबीचमा फाटो आएको छ । समाजमा स्वार्थ प्रवृति बढ्दै गएको छ । मान्छेहरु अशान्त भएका छन् । यो सबैको एउटै कारण पैसा नै हो ।, उहाँले भन्नुभयो,‘यस्तोमा ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रले अशान्त मनहरुलाई शान्त बनाउने,मानिसलाई सत् मार्गमा लाग्न प्रेरणा प्रदान गर्ने काम गरेको छ, यो अत्यन्तै सराहनीय कार्य हो।’ उहाँले यो संस्थालाई यहाँसम्म ल्याई पुर्याउन, संस्थाकी प्रमुख ब्रह्मकुमारी प्रभा दिदीले गर्नु भएको मेहनत अत्यन्तै सराहनीय रहेको बताउनुभयो ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै समाजसेवी विष्णु चालिसेले, उद्धव पाठक, माधव खरेल, पत्रकार कृष्ण थपलियाले समेत ब्रह्मकुमारी राजयोग सेवा केन्द्र लालबन्दीले गरेको काम र यसका प्रमुख प्रभादिदीको खुलेर तारिफ गर्नुभयो ।
उक्त कार्यक्रम पश्चात सेवा केन्द्रले धार्मिक र्यालीसहित हरिपुरमा रहेको ब्रह्मकुमारी राजयोग सेवा केन्द्रमा पुगि यस्तै कार्यक्रम गरेकाे राजयोग सेवा केन्द्रका उद्धव भाइजिले जानकारी दिनुभयो ।









