
सर्लाही,फागुन -२,जिल्लामा यस वर्ष तीन दिन सम्म विविध कार्यक्रमहरु गरी हर्षोल्लासका साथ प्रजातन्त्र दिवस मनाईने भएको छ।
प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठको अध्यक्षता तथा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा जिल्लाका सबै सुरुक्षा निकायका प्रमुखहरुसहित शुक्रवार (आज) सदरमुकाम मलंगवामा बसेको बैठकले जिल्लामा विभिन्न कार्यक्रमसहित फागुन ६, ७ र ८ गते तीन दिन सम्म हर्षोल्लासका साथ प्रजातन्त्र दिवस २०८१ मनाउने निर्णय गरेको हो ।

दिवसको अवसरमा पहिलो दिन प्रादेशिक अस्पताल मलंगवामा फलफुल वितरण गर्ने, दोश्रो अर्थात मुख्य दिन प्रभातफेरीसहित रक्तदान कार्यक्रमको आयोजना गर्ने र अन्तिम दिन जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच मैत्री क्रिकेट प्रतियोगिता आयोजना गरेर दिवस मनाउन लागिएको प्रजातन्त्र दिवस २०८१ जिल्ला स्तरीय मूल समारोह समितिले जनाएको छ ।

जिसस सभापतिको संयोजकत्वमा रहेको प्रजातन्त्र दिवस २०८१ जिल्ला स्तरीय मूल समारोह समितिले दिवसको अवसरमा फागुन ६ गते सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा फलफुल वितरण गर्नेछ । त्यस्तै दिवसको मुख्य दिन फागुन ७ गते विहान ७ बजे मलंगवामा प्रभातफेरी गरिनेछ । सोही दिन रक्तदान कार्यक्रम गरिनेछ भने फागुन ८ गते जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीबीच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता हुनेछ ।

वैठकले प्रजातन्त्र दिवसको अवसरमा जिल्लास्थित सबै सरकारी कार्यालय, सार्वजनिक एवम् सामुदायिक संघसंस्था, शैक्षिक संस्थालाई राष्ट्रिय झण्डा फहराउन अनुरोध गरेको छ ।
२००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा नेपालमा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाईने गरिएको छ ।









